कला


‘कान्तारा: च्याप्टर १’ देखि ‘धुरन्धर’सम्म : यो वर्ष यी १० विदेशी फिल्मले कमाए नेपालबाट ५८ करोड

‘कान्तारा: च्याप्टर १’ देखि ‘धुरन्धर’सम्म : यो वर्ष यी १० विदेशी फिल्मले कमाए नेपालबाट ५८ करोड

लक्ष्मी बलायर
पुस १३, २०८२ आइतबार १४:४४, काठमाडौँ

हामी सन् २०२५ को अन्त्यतिर छौँ। यतिखेर नेपाली सिनेमा हल विदेशी फिल्मको कब्जामा छ भन्दा फरक नपर्ला। किनकि मंसिर महिनायता रिलिज भएका नेपाली फिल्महरूले खासै कमाइ गर्न सकेनन्। ती फिल्महरूले हजारदेखि लाखसम्मको मात्रै व्यापार गरे।

तर यस्तोमा हलमा बलिउड फिल्म ‘धुरन्धर’ र हलिउड फिल्म ‘अवतार ३’ को दबदबा छ। आइतबार बिहानसम्म रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ ले नेपालमा आक्रामक कमाइ गरिरहेको छ।

त्यस्तै, अर्को बहुप्रतीक्षित हलिउड ‘अवतार: फायर एन्ड एस’ मा पनि दर्शकहरूको भीड छ। ‘धुरन्धर’को व्यापार झण्डै १० करोड पुग्न लागिसकेको छ।

हुन त यो वर्ष नेपाली फिल्महरू ‘परान’, ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ले पनि आक्रामक कमाइ गरे। विदेशी फिल्मको तुलनामा नेपाली फिल्मकै कमाइ बढी छ। ‘परान’ ले नेपालभर १७ करोडभन्दा बढी व्यापार गरिसकेको छ।

तर, यस रिपोर्टमा हामीले सन् २०२५ मा धेरै कमाइ गर्ने शीर्ष १० विदेशी फिल्मको समावेश गरेका छौँ। रोचक के छ भने यस सूचीमा ९ वटा भारतीय फिल्म हुँदा एउटा मात्रै हलिउड फिल्म परेको छ।

कान्तारा: च्याप्टर १
सन् २०२५ मा नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्मको पहिलो नम्बरमा भारतीय फिल्म ‘कान्तारा: च्यापटर १’ रहेको छ। चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले नेपालभरि १२ करोड ३६ लाख ६१ हजार ग्रस कलेक्सन गरेको छ। यस फिल्मका ३ लाख ८३ हजार ४३९ टिकट बिक्री भएका छन्।

२ अक्टोबरमा रिलिज भएको ‘कान्तारा: च्याप्टर १’ ले विश्वभर ८५० करोड भारतीय रुपैयाँ कमाएको छ। यस फिल्मको लेखन तथा निर्देशन ऋषभ शेट्टीले गरेका हुन्।

दैविय शक्तिमाथि आधारित यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’ प्रिक्वेल हो। फिल्ममा ऋषभसहित गुलशन देवैया, जयराम र रकिमिनी वसन्तको मुख्य भूमिका थियो।

सैयारा
प्रेमकथानक बलिउड फिल्म ‘सैयारा’ यस वर्ष नेपालमा धेरै कमाउने दोस्रो फिल्म बन्यो। अहान पाण्डे र अनीत पड्डाको मुख्य भूमिका रहेको फिल्मले नेपाली बक्सअफिसमा १० करोड २० लाख २८ हजार कमाइ गरेको छ। यस फिल्मका ३ लाख ३६ हजार ३६६ टिकट बिक्री भएको देखिन्छ।

यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरीका ‘एक भिलेन रिटर्न’, ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्। जसकारण नयाँ फ्लेभर दिँदै यस फिल्मबाट पनि सफलता हात पारे।

सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यू फिल्म हो। अनीत भने केही वेब सिरिजहरूमा देखिसकेकी थिइन्।

नयाँ भए पनि यी दुवै कलाकारहरूको अभिनयलाई दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। यस फिल्मले विश्वभरिबाट भने ५८० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ।

धुरन्धर
५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ तेस्रो नम्बरमा छ। नेपालमा यस फिल्मले हालसम्म ९ करोड ३ लाख २६ हजार रुपैयाँ कमाइसकेको छ।

२८ दिनसम्म फिल्मका २ लाख ७५ हजार ५०५ टिकट बिक्री भइसकेका छन्। यही रफ्तार रहेमा यस फिल्मले यस वर्षको अन्त्यसम्म १० करोड बढीको आकडा पार गर्ने देखिन्छ।

नेपालमा मात्रै नभई यस फिल्मले विश्वभर कमाइमा उछाल ल्याएको छ। विश्वभर एक हजार करोड बढी कमाइ गरेको यो सन् २०२५ को धेरै कमाउने कमाउने भारतीय फिल्म बनिसकेको छ। एक्सन जनरामा बनेको यस फिल्ममा रणवीर फिल्ममा एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्, जसले पहिले ‘उरी: द सर्जिकल स्ट्राइक’ फिल्म निर्देशन गरेका थिए।

फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ। ‘धुरन्धर’ को दोस्रो भाग सन् २०२६ को मार्चमा रिलिज हुनेछ।

हाउसफुल ५
अक्षयकुमारको मुख्य भूमिका रहेको कमेडी फिल्म ‘हाउसफुल ५’ नेपालमा धेरै कमाउने विदेशी फिल्मको चौथो स्थानमा छ। नेपालमा मात्रै यस फिल्मले ४ करोड ९५ लाख ५ हजार व्यापार गरेको देखिन्छ। जुन ६ तारिखबाट रिलिज भएको नेपालमा १ लाख ५९ हजार ३२२ टिकट बिक्री भएका छन्।

फ्रेन्चाइज फिल्म ‘हाउसफुल ५’ लाई तरुण मनसुखानीले निर्देशन गरेका हुन्। यस फिल्मका निर्माता साजिद नाडियाडवाला हुन्। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर लगायतको अभिनय रहेको छ।

अवतार: फायर एन्ड एस
जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन ‘अवतार: फायर एन्ड एस’ले सिनेपा बक्सअफिसमा ४ करोड ७१ लाख ४९ हजार कमाइ सकेको छ। १९ डिसेम्बरमा रिलिज भएको फिल्मका १ लाख १५ हजार १८२ हजार टिकट बिक्री भइसकेका छन्। यो फिल्म सन् २०२५ मा धेरै कमाउने विदेशी फिल्मको पाँचौँ स्थान बनाउन सफल भएको छ।

यो फिल्म सन २००९ मा रिलिज भएको ‘अवतार’को तेस्रो शृंखला हो। ‘अवतार’ले हलिउडमा अहिलेसम्म पनि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ। त्यस्तै, सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ धेरै कमाउने हलिउड फिल्मको तेस्रो स्थानमा छ।

वार २
ऋतिक रोशन, जुनियर एनटीआर अभिनीत ‘वार २’ नेपालमा धेरै कमाउने फिल्मको छैटो स्थानमा छ। १५ अगस्टमा रिलिज भएको फिल्मले नेपालमा ३ करोड ८६ लाख ७५ हजार ग्रस कलेक्सन गरेको छ। त्यसैगरी, फिल्मका १ लाख १८ हजार ४५६ टिकट बिक्री भएका छन्।

अयान मुखर्जीको निर्देशन रहेको यो फिल्म आदित्य चोपडाको यशराज फिल्म्सको स्पाई युनिभर्सको एक भाग हो। जुनियर एनटीआरले यसै फिल्मबाट हिन्दी फिल्म उद्योगमा डेब्यू गरेका थिए। फिल्ममा ऋतिक र जुनियर एनटीआरसहित कियारा आडवाणीको पनि अभिनय थियो।

यो फिल्म सन् २०१९ को एक्सन थ्रिलर वार’को सिक्वेल हो, जसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए।

तेरे इश्क में
धनुष र कृति सेननको मुख्य भूमिका रहेको फिल्म ‘तेरे इश्क में’ ले पनि नेपालमै राम्रै पैसा कमायो। यस फिल्मले बक्सअफिसमा ३ करोड ६२ लाख १० हजार कमाइ गरेको छ। ३० नोभेम्बरबाट प्रदर्शनमा आएको फिल्मका नेपालमा १ करोड १५ हजार ५४४ टिकट बिक्री भएका छन्।

यो आनन्द एल राय निर्देशित लभस्टोरी फिल्म हो। यस फिल्ममा धनुष र कृतिको केमेस्ट्रीलाई दर्शकहरूले निकै मन पराए। कलर यल्लो प्रोडक्सन र टी-सिरिजको ब्यानरमा बनेको फिल्मको आनन्द एल राय, हिमांशु शर्मा र भूषण कुमार निर्माता हुन्।

सितारे जमिन पर
आमिर खानको फिल्म ‘सितारे जमीन पर’ले पनि नेपाली बक्सअफिसमा राम्रो कमाइ गर्‍यो। यस फिल्मले नेपालमा कुल ३ करोड २४ लाख ७६ हजार कमाइ गरेको छ। साथै फिल्मका ९७ हजार ३९९ टिकट बिक्री भएका छन्।

आरएस प्रसन्ना निर्देशित यो फिल्म सन् २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको रिमेक हो। फिल्ममा आमिरसहित जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्।

आमिर खानको होम प्रोडक्सनको फिल्ममा अरुष दत्ता, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, नमन मिश्रा, ऋषि सहानी, ऋषभ जैन, ब्रिजेन्द्र कला र डली अहलुवालियाको पनि अभिनय छ।

सिकन्दर
सलमान खान स्टारर बलिउड फिल्म ‘सिकन्दर’ ले पनि सन् २०२५ मा नेपालमा राम्रो कमाइ गरेको छ। नेपालमा ३ करोड २० लाख कमाउँदै धेरै कमाउने विदेशी फिल्मको नवौँ स्थानमा आएको छ। मार्च ३० बाट रिलिज भएको यस फिल्मका ९४ हजार ४६० टिकट बिक्री भएका छन्।

एक्सन जनरामा बनेको फिल्ममा सलमानसहित रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। यो फिल्म एआर मुरुगादासको निर्देशन रहेको छ।

उनले यसअघि गजनी, हलिडे र अकिराजस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन्।

थामा
रश्मिका मन्दना र आयुष्मान खुराना अभिनीत फिल्म ‘थामा’ नेपालमा धेरै कमाइ गर्ने फिल्मको दशौँ नम्बरमा छ। म्याडक फिल्म्सको हरर कमेडी फिल्मले नेपालबाट २ करोड ५० लाख कमाइ गरेको छ।

‘स्त्री २’ बनाउने टिमले बनाएको यस फिल्मलाई दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। नेपालमा यस फिल्मका ७२ हजार ३९ टिकट बिक्री भएका छन्। फिल्ममा आयुष्मान र रश्मिकासहित नवाजुद्दीन सिद्दीकी र परेश रावलको पनि अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad