गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आरशाला’ मा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ ।
आभासका धुनहरू समेटिएका ‘संगत र सहकार्य’ शीर्षक दिइएको कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए। कार्यक्रमलाई आभास आफैंले न्यारेट गर्दै गीति रचनाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमको सुरुवात उनले पहिलो पल्ट स्टेजमा गाएको एकल गीत ‘भुइँ कुहिरो उड्न थाल्यो’ बाट भएको थियो। संगीतकार तथा गीतकार चन्द्र भण्डारीले सिर्जना गरेको यस गीतमा वैचारिक दृढताको अनुभूति झल्कन्थ्यो ।
हरेक गीतको प्रस्तुतिसँगै आभासले त्यस गीतसँग जोडिएको रचनागर्भको चर्चा गरेका थिए। जसमा कहिले गीतकार जोडिन आइपुग्थे भने कहिले संगीतकार। कहिले रोचक संस्मरण जोडिन आइपुग्थे भने कहिले भावुक सम्झना।
दोस्रो र तेस्रो प्रस्तुतिमा आभासको पहिलो सांगीतिक एल्बम ‘पलापला’ मा संग्रहित गीत रहेका थिए । उनले आफ्नै शब्द रचनाको ‘आँसुले यो मन बहकिन्छु’ पछि कवि तथा गीतकार विप्लव प्रतीकले सिर्जना गरेको ‘जीवनभर टिठ्याइ रह्यो मलाई जिन्दगीले’ गाएका थिए। आभासले आफ्ना पुराना तीनवटा गीत प्रस्तुत गरिसकेपछि पलेँटीमा सम्लग्न नयाँ पुस्ताकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेलाई प्रस्तुत गरेका थिए ।
सुरुमा आफ्ना लागि आफै शब्द रचना गर्ने गरेको जानकारी दिँदै आभासले क्रमशस् गीतकार विप्लव प्रतीक र श्रवण मुकारुङसँग संगत भएपछि अन्य गीतकारका शब्दहरूमा पनि आकर्षित भएको जनाएका थिए ।
चौथो प्रस्तुतिमा अभिज्ञाले श्रवण मुकारुङको गीत ‘हजुर हजुर म पो हजुरको’ प्रस्तुत गरेकी थिइन्। पाँचौं र छैठौँ प्रस्तुति पनि अभिज्ञाकै कण्ठमा गुन्जिएका थिए। जसमा कवि मञ्जुलको शब्द रचना ‘कुर्नु कुरिसकेपछि पर्वतले जून पायो’ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना ‘जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत’ रहेका थिए। ‘कुर्नु कुरिसकेपछि’बोलको गीत गायक फत्तेमानको सांगीतिक एल्बम फत्तेमान ७० मा सङ्ग्रहित गीत थियो।
यसपालिको पलेँटीमा आभासले आफूले धुन भरेका पाँचवटा नयाँ सिर्जनाहरू रहेको जानकारी गराएका थिए । नयाँ गीत सुनाउने क्रममा आभासले सबैभन्दा पहिले कुमार नगरकोटीको शब्द रचनामा कहिले घाम कहिले पानी, जिन्दगानी, कहिले धुवाँ कहिले खरानी, जिन्दगानी प्रस्तुत गरेका थिए।
यमन रागको झलक रहेको यस गीतले निषाद स्वरमा विश्राम लिँदा, पानीकै तरलताको अनुभूति झल्काउँथ्यो। त्यसपछि श्रवण मुकारुङको नयाँ गीति रचना तिमीलाई भेट्न भनेर, नौ डाँडा काटी म आएँ प्रस्तुत भएको थियो। दादरा तालमा आवद्ध यस गीतलाई अभिज्ञा घिमिरेले नै स्वर दिएकी थिइन् ।
प्रस्तुतिका क्रममा आभासले आफ्नो सांगीतिक सृजना कर्ममा नयाँ नयाँ गीतकारहरू जोडिँदै आएको जनाएका थिए। त्यही क्रममा उनले पश्चिम बङ्गालको सिलगढीमा रहेर कविता तथा गीतमा कलम चलाइरहेका सञ्जय बान्तवाको शब्दमा रहेको नसुनाऊ मलाई धेरै झुठा तिम्रा कुराु प्रस्तुत गरेका थिए ।
आभासले सिमाना पारिका नेपालीभाषी गीतकारहरूलाई आफ्नो धुनमा समेट्न पाएकोमा खुसी व्यक्त गरेका थिए।
नयाँ सिर्जनाको प्रस्तुतिका क्रममा गीतकार दिनेश अधिकारीको यसरी नै रमाउनु, यसै नै यसरी नै रिसाउनु बोलको गीत प्रस्तुत भएको थियो । संगीतकार आभासले रोमान्टिक मुडको यो रचना आफ्नो सबैभन्दा कान्छो धुन भएको जानकारी गराएका थिए ।
त्यसपछि पालो आएको थियो कवि तीर्थ श्रेष्ठको प्रसिद्ध कविता हिउँमा लेखिएका नाम को । कवि तीर्थको यस कवितालाई आभासले गीतमा रुपान्तरण गरेर आफ्नो सांगीतिक एल्बम ल्यामपोस्ट मा संग्रहित गरेका छन्। जसलाई पलेँटीका श्रोता, दर्शकले अत्यधिक रुचाउँदै आएका छन्। सधैँ आभासले गाउने यस गीतलाई यसपाली भने सामूहिक गायनमा प्रस्तुत गरिएको थियो ।
काव्यात्मक सौन्दर्यमा सजिएका शब्दलाई धुन भर्न रुचाउने आभासले कवि श्रवण मुकारुङको एउटा काव्यात्मक गीतलाई द्वन्दकालताकादेखि नै गाउँदै आएका छन्। गौथली झैँ यो गाउँमा कसको मायाले भन तिमी आयौ। यो गीतलाई यसपालि अभिज्ञा घिमिरेको स्वरमा प्रस्तुत गरिएको थियो। अभिज्ञाले यो गीतलाई पनि प्रभावकारी ढंगले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको अन्तिमतिर आभासले आफ्नो प्रसिद्ध गीति रचना गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो, आफै फेरिएछु प्रस्तुत गरेका थिए। यो गीतले नेपालको राजनैतिक नेतृत्वलाई करुणापूर्वक व्यङ्ग्य गरेको प्रतीत हुन्थ्यो ।
यसपालिको पलेँटीको समापन रमाइलो ढंगले भएको थियो। आफ्ना गुरु अम्बर गुरुङ र अग्रज सर्जक भीमबिरागसँगका अन्तरङ्ग क्षणहरूको स्मरण गर्दै उनले बैठकी शैलीमा यस गजललाई प्रस्तुत गरेका थिए। अम्बर गुरुङकै उपस्थितिमा पलेँटीमा निक्कै वर्ष पहिले आभासले गाएको यस गजलले नयाँ रौनक उत्पन्न गराएको थियो ।
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), सुन्दरकुमार महर्जन र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (बेस गिटार) र प्रविन पुलामी मगर (रिदम गिटार) को सहभागिता रहेको थियो।
Shares

प्रतिक्रिया