नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले बक्सअफिसमा १७ करोड ७१ लाख १७ हजार पुगेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले गत शनिबारसम्म यो आकंडा पार गरेको हो।
‘छक्का पञ्जा ४’ को रेकर्ड तोड्दै यो सर्वाधिक कमाइ गर्ने चौथो फिल्म बनिसकेको छ। हालसम्म यस फिल्मका ६ लाख २८ हजार ७९३ टिकट बिक्री भएका छन्।
पछिल्लो एक सातामा फिल्मले ४ लाख मात्रै व्यापार गरेको देखिन्छ। जसकारण पछिल्लो सुस्त व्यापारले यस फिल्मले समीर भट्टको डेब्यू फिल्म ‘१२ गाउँ’ उछिन्ने देखिँदैन। किनकि १९ करोड ९२ लाख ग्रस कलेक्सन गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ।
कात्तिक १४ गते प्रदर्शनमा आएको फिल्मको सुरुवाति व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले पाँच लाखको ओपनिङ गरेको थियो। तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थालेको थियो।
फिल्ममा नीरसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।
दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।
Shares

प्रतिक्रिया