कला


‘आर्ट इन हिमालय’ अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सात देशका कलाकार सहभागी हुने

‘आर्ट इन हिमालय’ अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सात देशका कलाकार सहभागी हुने

नेपालखबर
पुस २२, २०८२ मंगलबार २०:४९, काठमाडौँ

सिर्जनशील कलाकार समूह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पोखरामा ‘आर्ट इन हिमालय’ शीर्षकमा अन्तरराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ।

यही पुस २४ गतेदेखि २६ गतेसम्म पोखरा महानगरपालिका–९ नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा नेपालसहित सात देशका करिब ४० कलाकारका कलाकृति प्रदर्शन गरिने भएको हो।

प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले नेपाली कला र कलाकारलाई अन्तरराष्ट्रिय रूपमा चिनाउने र कलामार्फत संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यलले प्रदर्शनीको आयोजना गरिएको बताइन्। 

उनका अनुसार प्रदर्शनीमा नेपाल, अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क क्यानडा र आयरल्यान्डका कलाकारका कलाकृति प्रदर्शनीमा राखिने भएको छ।

‘प्रदर्शनीसँगै कलाकृतिलाई बिक्रीमा पनि राखिनेछ, विदेशी कलाकारले नेपाली कलाकृतिलाई महँगो मूल्य तिरेर खरिद गर्न सक्छन्’, उनले भनिन्, ‘प्रदर्शनीमा कास्कीसहित गण्डकी प्रदेशका अन्य जिल्लाका कलाकारका कलाकृतिलाई पनि समेट्ने प्रयास गर्दैछौँ।’ 

प्रतिष्ठानले कला प्रवद्र्धनका कार्यक्रममा जोड दिँदै आएको प्राज्ञ सदस्य कँडेलले बताइन्।

प्रतिष्ठानको प्राविधिक सहयोगमा यही पुस पहिलो साता पर्वतको कुश्मामा पनि ‘एक दिवसीय कला कार्यशाला’ आयोजना गरिएको थियो।

कुश्मा कला परियोजनाद्वारा आयोजित उक्त कार्यशालामा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका थिए।

प्राज्ञ सदस्य कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका ललितकलासम्बन्धी कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताइन्।

व्यावसायिक रूपमा पनि चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने उनको भनाइ छ।

गतवर्ष पनि अमेरिकालगायतका देशका कलाकारले पोखरामा भएको कला प्रदर्शनीमा भाग लिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरूङले बताए। ‘यो प्रदर्शनी नेपाली कलाकार र उनीहरूका कलाकृतिलाई विश्वस्तरका कलाकारमाझ पुर्‍याउने माध्यम बन्नेछ’, उनले भने, ‘कलाकृतिलाई बिक्रीमा पनि राखिने भएकाले नेपाली कलाकारलाई आर्थिक रूपमा पनि लाभ पुग्नेछ।’रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad