भारतीय अभिनेता यश अभिनीत फिल्म ‘टक्सिक’को टिजर सार्वजनिक भएको छ। रकिङ स्टार यशको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको हो।
यसले निर्वाह गरेको राय पात्रबारे टिजरले जानकारी दिन्छ। टिजर हेर्दा फिल्ममा उनी खतरानाक अवतारमा देखिएका छन्। उनको लुक्स, हाउभाउ र एक्सनले उनको क्रुर भूमिका रहेको प्रस्ट हुन्छ।
गीतु मोहनदासको निर्देशन रहेको फिल्म यश र गीतुको लेखनमा बनेको हो। फिल्ममा यशसहित कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र रूक्मिणी वसन्त लगायतको अभिनय हेर्न सकिनेछ।
ग्याङस्टर-एक्सन थ्रीलर यो फिल्म सन् १९४० देखि १९७० सम्मको दशकको समय रेखामा गोवामा सेट गरिएको छ। यसको कथा गोवाको जीवन्त सांस्कृतिक अनुहार पछाडि लुकेको शक्तिशाली लागूऔषध कार्टेलको वरिपरि घुम्छ।
यश ‘केजीएफ २’ पछि यस फिल्ममार्फत फर्किन लागेका हुन्। एक्सन-थ्रिलर जनरामा बनेको फिल्म सन् २०२६ को मार्च १९ बाट रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया