थलापति विजय अभिनीत दक्षिण भारतीय फिल्म ‘जन नायकन’ को रिलिज मिति स्थगित भएको छ। फिल्मको प्रोडक्सन हाउस केभीएन प्रोडक्सनले बुधबार रिलिज मिति पोस्टपोन्ड गरेको घोषणा गरेको छ।
फिल्मको रिलिज मिति स्थगित गरिएको सम्बन्धमा आफ्नो विज्ञप्तिमा, निर्माण गृहले भन्यो, ‘हामी भारी हृदयका साथ यो जानकारी साझा गर्न बाध्य छौं। जनवरी ९ मा रिलिज हुने भनिएको जन नायकन हाम्रो नियन्त्रण बाहिरका कारणले स्थगित गरिएको छ।’
केभीएन प्रोडक्सनले फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा गरिने पनि बताएको छ। उनीहरूले दर्शकहरूलाई धैर्य गर्न र आफ्नो माया बर्साइरहन आग्रह पनि गरेका छन्।
निर्माण टिमले विज्ञप्तिमा फिल्म स्थगित गर्नुको कारण उल्लेख गरेको छैन। यद्यपि, केन्द्रीय फिल्म प्रमाणन बोर्डले तोकिएको समय भित्र फिल्मलाई प्रमाणपत्र जारी गर्न असफल भएपछि यो निर्णय गरिएको हो।
डिसेम्बर १८, २०२५ मा प्रमाणीकरणको लागि पेश गरिएको थियो। प्रारम्भिक जाँचपछि केही कटौतीसहित युनिभर्सल प्रमाणपत्र दिइने बताएपनि फाइनल सर्टिफिकेट मिलेन्। पछि फिल्मलाई संशोधन समितिमा पठाइएको थियो, जसले गर्दा प्रक्रिया अझ लम्बियो।
सीबीएफसीले फिल्मको बारेमा धार्मिक भावना र सेनाको चित्रणसँग सम्बन्धित मुद्दाहरू उठाउँदै उजुरी प्राप्त भएको बताएको छ। फिल्मका निर्माताहरूले उजुरी अस्पष्ट भएको र कुनै पनि व्यक्तिको नाम नलिइएको तर्क गरे। त्यसैले, उनीहरूले निर्णयलाई चुनौती दिए।
प्रमाणीकरणमा ढिलाइ भएका कारण यो मुद्दा मद्रास उच्च अदालतमा पुग्यो। निर्माताहरूले अदालतबाट तत्काल राहतको याचना गरेका थिए। यद्यपि, बुधबार, अदालतले यस विषयमा आफ्नो निर्णय सुरक्षित राख्यो, जसले फिल्मको समयरेखालाई अझ जटिल बनायो।
५१ वर्षीय विजयको ‘जन नायकन’ अन्तिम फिल्म हुनेछ। किनकी केहीअघिमात्रै उनले अभिनयबाट सन्यास लिएर पूर्णरुपमा राजनीतिमा सक्रिय हुने घोषणा गरिसकेका छन्। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावमा लड्ने उनको तयारी छ।
यस फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ। एच विनोथ निर्देशित यो फिल्म हिन्दीमा भने ‘जन नेता’ शीर्षकका आउँदैछ।
Shares

प्रतिक्रिया