कला


भारतमा पनि ‘ऊनको स्वीटर’ को प्रदर्शनको ५१ दिन पूरा

भारतमा पनि ‘ऊनको स्वीटर’ को प्रदर्शनको ५१ दिन पूरा

नेपालखबर
पुस २७, २०८२ आइतबार १५:३३, काठमाडौँ

नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारतभर ४० वटा हलमा रिलिज भएको यस फिल्मले विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ।

५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन्। यी हलहरूमा फिल्मले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ।

नेपालमा  ५१ दिनसम्म ४० भन्दा बढी हलमा प्रदर्शन भई करिब १२ करोड रुपैयाँ व्यापार गरेको ‘ऊनको स्वीटर’ ले भारतमा पनि सशक्त उपस्थिति जनाएको हो।

आर्टमान्डू नेपाल प्रा.लि.ले निर्माण गरेको यस चलचित्रको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोबाट सुरु भएको थियो। प्रारम्भिक शोहरूबाट चलचित्र हाउसफुल चलेको थियो।

गान्तोकबाट सुरु भएको यात्राले नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतमा बलियो पकड बनायो। त्यसपछि चलचित्र आसामका गुवाहाटी, तेजपुर, विश्वनाथ चाराली, मार्गेरिटा तथा अरुणान्चल प्रदेशको ईटानगरसम्म विस्तार भयो। कोलकाताका हलहरूमा चलचित्रले आफ्नै दर्शक वर्ग बनाएको छ भने दिल्लीमा नयाँ दर्शक पायो।

पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि ‘ऊनको स्वीटर’ महाराष्ट्रको मुम्बईदेखि दक्षिण भारतसम्म पुग्न सफल भयो। केरला, बैंगलोर र हैदराबाद जस्ता सहरहरूमा भाषा फरक भए पनि भावनात्मक अनुभूति एउटै रहेको प्रतिक्रिया दर्शकबाट आएको निर्देशक नवीन चौहानले बताए।

पश्चिम र उत्तर भारततर्फ मुम्बई, पुणे, चण्डिगढ, लुधियाना, शिम्ला, देहरादून र लखनउसम्म पुगेको यो यात्राले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको निर्देशक चौहानको भनाइ छ।

यस फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ। भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूह ले रिलिज गरेका हुन्। भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad