साउथ स्टार यश अभिनित भारतीय फिल्म ‘टक्सिक’ विवादमा परेको छ। फिल्मको टिजर सार्वजनिक भएसँगै यस फिल्मलाई लिएर व्यापक आलोचना भइरहेको छ।
फिल्मको टिजरमा समावेश दृश्य अश्लील, आपत्तिजनक र नैतिक मूल्यको विरुद्धमा रहेको भन्दै राजनीतिक दल र सामाजिक अभियन्ता यस फिल्मविरुद्ध सेन्सर बोर्डमा पुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आम आदमी पार्टी (आप) को महिला संगठन र अन्य सामाजिक अभियन्ताले टिजरविरुद्ध कर्नाटक राज्य महिला आयोगमा उजुरी दर्ता गरेका छन्।
टिजरमा देखाइएको दृश्य अश्लील रहेको र यसले महिलाको गरिमामा चोट पुर्याउने उल्लेख आरोपपत्रमा उल्लेख गरिएको छ। साथै त्यस्ता दृश्यले बालबालिका र समाजमा गलत प्रभाव पार्ने उनीहरुको चिन्ता छ।
महिला संगठनले टिजरलाई सामाजिक सञ्जालबाट हटाउन र भविष्यमा यस्ता सामग्रीविरुद्ध कडा कानुन बनाउन समेत माग गरेका छन्।
महिला संगठनको उजुरीपछि कर्नाटक राज्य महिला आयोगले केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डलाई पत्र पठाउँदै टिजरका विषयमा आवश्यक कारबाही गर्न माग गरेको छ। कुनै सेन्सर वा चेतावनीबिना टिजर सार्वजनिक गर्नुले महिलाको गरिमामा चोट पुर्याउँछ र कन्नड संस्कृतिको पनि अपमान गरेको महिला आयोगको ठहर छ। आयोगले नियमअनुसार टिजरको समीक्षा गरी यस विषयमा प्रतिवेदन पेश गर्न पनि अनुरोध गरेको छ ।
फिल्मलाई लिएर सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले पनि उजुरी दर्ता गराएका छन्। उनले टिजरमा रहेका केही दृश्यलाई अश्लील, आपत्तिजनक र नैतिक मूल्यहरूको विरुद्धमा रहेको बताएका छन्।
एएनआईको रिपोर्ट अनुसार, सीबीएफसी अध्यक्ष प्रसून जोशीलाई दिएको उजुरीमा सामाजिक कार्यकर्ताले भनेका छन्, ‘टक्सिकको टिजरमा अत्यधिक अश्लील, यौन स्पष्ट र अश्लील दृश्यहरू छन्, जुन सामाजिक सञ्जालमा खुला रूपमा उपलब्ध छन्। यसले बालबालिका र युवाहरूलाई यस्तो सामग्री हेर्न बाध्य पारिरहेको छ, जुन कानून र समाज दुवैको विरुद्ध हो।’
गीतु मोहनदासको निर्देशन रहेको फिल्म यश र गीतुको लेखनमा बनेको हो। यस फिल्ममा यशसहित कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र रूक्मिणी वसन्त लगायतको अभिनय छ।
ग्याङस्टर-एक्सन थ्रीलर यो फिल्म सन् १९४० देखि १९७० सम्मको दशकको समय रेखामा गोवामा सेट गरिएको छ। यसको कथा गोवाको जीवन्त सांस्कृतिक अनुहार पछाडि लुकेको शक्तिशाली लागूऔषध कार्टेलको वरिपरि घुम्छ।
यश ‘केजीएफ २’ पछि यस फिल्ममार्फत फर्किन लागेका हुन्। एक्सन-थ्रिलर जनरामा बनेको फिल्म सन् २०२६ को मार्च १९ बाट रिलिज हुँदै छ।

प्रतिक्रिया