गत साउनताका भर्खेरै नाटक ‘सिक रुम’को मञ्चन सकेर बसेका थिए अभिषेक खड्का। त्यसैबेला उनलाई एक अपरिचित नम्बरबाट कल आयो। फोन गर्ने व्यक्ति थिए, कार्यकारी निर्माता केदार भुषाल। केदारले अभिषेकलाई फिल्मको अफर गरे। उनले अभिषेकसँग भने, ‘एउटा फिल्मको लागि कुरा गर्नुछ। अडिसन चाहिँ दिनुपर्छ।’
अभिषेकको लागि अडिसन दिनु नौलो कुरा थिएन। किनकि यसअघि उनले थुप्रै पटक अडिसन दिइसकेका थिए। कतिमा छनोट भएका थिए कतिमा रिजेक्ट। जसकारण उनले त्यो सर्त सहजै स्वीकारे।
अभिषेक रंगमञ्चमा भर्खर संघर्ष गरिरहेका थिए। त्यसैले उनले फिल्मको रोलबारे खासै सोधेनन्। बरु सानो रोल भए पनि नोटिस हुने गरेर काम गर्ने उनको सोच थियो।
केही दिनमा उनी निर्माण टिम भेट्न गए। जहाँ उनको व्यक्तिगत रूचिसहित अभिनयको चाहनाबारे सोधीखोजी गरियो। त्यसैबखत निर्देशक दिनेश राउतले भने: फिल्ममा तिमी नै लिड क्यारेक्टरमा हुन्छौँ।
त्यो सुनेपछि अभिषेक अक्क न बक्क परे। किनकि उनले यति चाँडै मुख्य भूमिकाबारे सोचेका पनि थिएनन्। नर्भस अभिषेकले छक्क पर्दै सोधे: हजुर दाइ?
त्यहीं कुरा दोहोर्याउँदै राउतले थपे: लिड रोलको लागि अफर गरिएको हो। फिल्ममा तिम्रै एजको चाहिएको छ। अडिसन चाहिँ दिनुपर्छ।
‘मेरो दिमागमा अझै स्ट्रगल गर्नुपर्छ भन्ने थियो। म फिल्महरू गर्छु। जति नै सानो क्यारेक्टर भए पनि म आफ्नो शत प्रतिशत दिन्छु। अनि नोटिस भएरै छोड्छु भन्ने थियो,’ उनले भने, ‘तर, ठ्याक्क लिड रोलको अफर आएपछि त म छक्क परेँ। विश्वास नै लागिरहेको थिएन। नर्भस पनि भएँ म।’

खासमा दिनेश राउतको टिमले अभिषेकको नाटक ‘सिक रुम’ हेरिसकेको थियो। उनको काम मन पराएर नै उनलाई फिल्म ‘कुमारी’ अफर गरिएको थियो।
लिड रोल हो भन्ने थाहा पाएपछि अभिषेक उत्साहित भए। साथै थोरै नर्भस पनि। तर, केही नाटक र सर्ट फिल्म खेलिसकेकाले कन्फिडेन्ट भने थिए उनी। र, अडिसन दिएर निर्देशक राउतको मन जित्दै फिल्मको लिड रोलमा छनोट भए।
तर, सुटिङ सेटमा पुगेर फिल्ममा अभिनय गर्न थाल्दा नाटकभन्दा केही फरक पाए। खासमा नाटकमा उनी आधाएक घण्टादेखि नै क्यारेक्टरमा डुब्थे र ढिलोसम्म त्यसैमा बग्थे। तर, फिल्ममा छिट्टै क्यारेक्टरमा स्विच अन/अफ हुनुपर्ने। जसकारण डेब्यु फिल्ममा अभिनय गर्न केही गाह्रो भएको उनको भनाइ छ।
यस फिल्ममा अभिषेकसहित आकृति राजभण्डारीले समेत सिनेक्षेत्रमा डेब्यु गर्दैछिन्। सुशान्त केसीको ग्लोबल हिट गीत ‘बार्दली’ खेलेर चर्चित छन् आकृति। आकृतिसँग काम गर्न निकै सहज भएको सुनाउँछन् अभिषेक।
एक महिनादेखि फिल्मको गीत ‘डोको बुन्ने निगालो चोयाले’ निकै चर्चामा छ। साथै सार्वजनिक ट्रेलरले पनि दर्शकहरूको ध्यान खिचिरहेको छ। यस्तो प्रतिक्रियाले यतिखेर दंग छन् अभिषेक। तर, डेब्यु फिल्म भएकाले दबाब पनि महसुस भइरहेको छ।
‘प्रेसर पनि फिल हुन्छ। त्यो आफैँसँग राखेको आशा पनि हो जस्तो लाग्छ। नाटकहरू खेलेको र सिकाएको पनि। अब थिएटर आर्टिस्ट भए पनि अलिकति गहिरो रुपमा काम गर्छ भन्ने धेरैको आशा हुन्छ,’ उनले भने, ‘मैले पनि इमानदारीका साथ काम गरेको छु। मलाई त मेरो क्यारेक्टर नै मन पराउनुहुन्छ भन्ने लाग्छ। मैले धेरै जेनजीसँग राम्रो संगत गरेको छु। हामीले सबैलाई समेटेर क्यारेक्टर बनाएका छौँ। तर, कस्तो हुन्छ भन्ने मलाई नि थाहा हुँदैन। त्यसको प्रेसरसहित नर्भसनेस छ। प्रचारप्रसारको चटारो पनि छ। फिल्मभन्दा प्रमोसन गर्न गाह्रो हुँदो रहेछ।’
अभिषेकका अनुसार ‘कुमारी’ एक विशुद्ध प्रेमकथा हो। जसले अहिलेका युवापुस्ता अर्थात जेनजीको प्रेमकथालाई केन्द्रमा राखेको छ। पर्दामा दर्शकहरूले इशा र प्रयागको अबोध र रोचक लभस्टोरी हेर्न पाउने बताउँछन् उनी।

‘फिल्मको कथा सरल भए पनि प्रस्तुतीकरण रोचक छ। लभस्टोरी भए पनि दुइटा क्यारेक्टरको छुट्टाछुट्टै स्टोरी छ। फिल्मबाट एउटा क्यारेक्टर निकाल्दा पनि इन्ट्रेस्टिङ नै लाग्छ। अहिले समाजमा भइरहेको पितृसत्ता र महिलालाई समाजले हेर्ने दृष्टिकोण पनि फिल्ममा छ,’ उनी भन्छन्।
अभिषेक पाँच वर्षदेखि कलाकारितामा छन्। बिर्तामोडका उनलाई फिल्मको रूचि जगाइदिने भने उनका दाइदिदी हुन्। घरमा दाइदिदीले विदेशी फिल्महरू निकै हेर्थे। जसकारण उनलाई पनि सानैबाट फिल्मप्रति मोह बढ्दै गयो। हलिउड फिल्महरू प्रेस्टिज, फाइट क्लब र टाइटनिक जस्ता फिल्महरू हेरेको स्मरण गरे। त्यस्तै, क्रिस्टोफर नोलनको फिल्म निकै मन पर्ने गरेको उनले सुनाए।
उनलाई नृत्यमा समेत विशेष लगाव थियो। स्कुलका कार्यक्रम होस् वा कुनै प्रतियोगिता, सहभागी हुन्थे उनी। त्योबेलाको चर्चित नृत्य कार्यक्रम छमछमीमा समेत भाग लिएको उनले सुनाए। त्यस्तै, अभिनयप्रति रूचि लागेर नै झापामै छँदा कल्याण थापासँग एक महिना अभिनय सिकेको समेत उनले खुलाए। त्यतिबेला उनी १० कक्षामा पढ्थे।
त्यसपछि भने अभिनय पढ्छु भनेर उनी काठमाडौं आए। नेपाल फिल्म क्याम्पसमा भर्ना भए। त्यसपछि नै आफूले नेपाली फिल्म पनि हेर्न थालेको बताउँछन् उनी।
त्यसैबखत उनले एक्टर्स स्टुडियोबाट अनुप बरालबाट अभिनय कक्षा लिए। र, अनुप बरालकै नाटक सपनाको अवसान बाट डेब्यु गर्ने मौका पाए। त्यो बेला यस नाटकको निकै चर्चा भएको थियो। अभिषेक पनि धेरैको नजरमा परेका थिए।
‘एक्टर्स स्टुडिओमा अभिनय सिक्न १८ वर्ष हुनुपर्ने थियो। तर, त्यतिबेला म १६ वर्षको मात्रै थिएँ। मैले ढाँटेर आफूलाई १८ वर्षको भनेँ। कोर्स सकिसकेपछि बल्ल भनेँ। अनुप सरले पनि मेरो अभिनय मन पराउनुभयो। एउटा सपनाको अवसानमा डेब्यु गर्ने मौका दिनुभयो। त्यो बेला पाएको फिडब्याकले अझै नाटकको महत्त्व बुझेँ,’ उनले भने।
त्यसपछि उनले केही नाटकसहित सर्ट फिल्ममा काम गरेर अनुभव बटुले। स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’मा समेत उनी झुल्किएका थिए। गत असारमा कौसी थिएटरमा मञ्चन भएको ‘सिक रुम’ मा उनी मुख्य भूमिकामा देखिएका थिए। जुन नाटकमा उनको अभिनयको निकै तारिफ भएको थियो।
थिएटर पृष्ठभूमिबाट भएकाले अभिषेकलाई पनि कार्म शाक्य, सुदाम सिके, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, दिव्यदेव र रोयदिप मनपर्ने अभिनेता हुन्। त्यस्तै, अभिनेत्रीमा भने उनलाई सुरक्षा पन्त, स्वस्तिमा खड्का, मेनुका प्रधान मन पर्छन्।
अभिषेक हेर्दा पनि क्युट र चकलेटी देखिन्छन्। लभस्टोरी जनराबाट डेब्यु गरेका उनलाई आगामी दिनमा कस्तो फिल्ममा खेल्न मन छ त?
जवाफमा उनले भने, ‘अब यो गर्छु भनेर त ठ्याक्कै सोचेको छैन। तर, एउटा रणनीति बनाउनुपर्छ। सायद अभिषेकलाई केही समय लबस्टोरी र रोमान्समै देख्नुहुन्छ। पछि अरु जनरामा पनि देखिन्छु।’
यसअघि अनमोल केसी, प्रदीप खड्का, धिरज मगर लगायत लभस्टोरी जनरामा जमेका अभिनेता हुन्। अब जेनजी अनुहार अभिषेकको आगमनले ती पुराना अनुहारलाई विस्थापित गर्ला त?
यसको रोचक जवाफ अभिषेकले दिए।
उनले भने, ‘त्यस्तो त केही लाग्दैन। प्रदीप, अनमोल दाइ सबैजना यो क्षेत्रमा परिवारजस्तै हो। हामी डाइनिङ टेबलमा खाना खाइरहेका छौँ। म कसैको कुर्सी खोस्न आएको होइन। एउटा कुर्सी थपेर खाना खान आएको हो। नयाँ अनुहार थपिएको मात्र हो। जेनेरेसन पनि परिवर्तन भएको हो।’
Shares

प्रतिक्रिया