कला


'राते काइँला'को त्यो डरलाग्दो आँखा, जसले अभिनयको नयाँ स्कुल खोल्यो

'राते काइँला'को त्यो डरलाग्दो आँखा, जसले अभिनयको नयाँ स्कुल खोल्यो

नेपालखबर
माघ २४, २०८२ शनिबार १३:५, काठमाडौँ

एउटा मान्छे, जसलाई देख्नेबित्तिकै पर्दामा डर लाग्थ्यो। जसका आँखाहरू रगतजस्तै राता देखिन्थे र जसको अट्टहासले हलमा सन्नाटा छाउँथ्यो। तर, ती 'क्रुर' पात्र पर्दा बाहिर कति शालीन र सहयोगी थिए भन्ने कुरा उनीसँग संगत गर्नेहरूलाई मात्र थाहा छ।

नेपाली सिनेमामा खलपात्रको परिभाषा नै बदलिदिएका प्रभावशाली अभिनेता सुनिल थापा अब हामीमाझ रहेनन्। विडम्बना कस्तो भने, जतिबेला उनी अस्ताए, त्यतिबेला पनि उनी आफूलाई सबैभन्दा मनपर्ने ठाउँ अर्थात् सुटिङ सेटमै थिए। सुटिङ सेटमै व्यस्त रहँदा-रहँदै उनी अचानक अस्ताए।

सुनिल थापाको कलाकारिताको यात्रा कुनै संयोगभन्दा कम छैन। सन् १९७४ तिरको कुरा हो, उनी मुम्बईमा मोडलिङ र फुटबलमा खुबै व्यस्त थिए। उनको हातमा क्यामेरा हुन्थ्यो, उनी 'जुनियर स्टेटस्म्यान' म्यागेजिनका लागि फोटो पत्रकारका रूपमा काम गर्थे।

सुनिल थापाको सशक्त अभिनयको स्वाद खासमा चलचित्र चिनोले नेपाली दर्शकलाइ चखायो।
तर, उनको ओजिलो व्यक्तित्व र खरो स्वभावले उनलाई क्यामेराको पछाडि मात्र बसिरहन दिएन। ग्ल्यामरको दुनियाँले उनलाई आफूतिर तान्यो। उनको अभिनय यात्राको श्रीगणेश नेपालीबाट होइन, बलिउडको ब्लकबस्टर फिल्म 'एक दुजे के लिए' (सन् १९८१) बाट भयो।

'राते काइँला' को जन्म
‘यो कुरा रातेलाई मन परेन’ तथा ‘यो कुरा मलाई मन परेन’ भन्ने यी २ डायलग नेपाली सिनेमाका दर्शकले धेरै समय दोहोराइ रहे। नेपाली सिनेमाले उनलाई चिन्न केही समय कुर्नुपर्‍यो। निर्देशक तुलसी घिमिरेले उनलाई 'मसाल' मार्फत नेपाली पर्दामा भित्र्याए। तर, सुनिल थापालाई 'सुनिल थापा'भन्दा बढी उचाइ दिने काम भने घिमिरेकै अर्को फिल्म 'चिनो'ले गर्‍यो। 

'चिनो'मा उनले निर्वाह गरेको 'राते काइला'को भूमिका यति शक्तिशाली भयो कि दशकौँसम्म पनि उनलाई धेरैले वास्तविक नामभन्दा यही पात्रको नामले चिने। त्यो क्रुर, प्रतिशोधी र डरलाग्दो गेटअपमा देखिएका काइलाले फिल्मका मुख्य पात्रहरूको जीवनमा मात्र हलचल ल्याएनन्, नेपाली दर्शकको मानसपटलमा 'भिलेन' को एउटा मानक नै खडा गरिदिए। उनको संवाद बोल्ने शैली र आँखाको हाउभाउ आज पनि धेरैका लागि अभिनयको एउटा पाठ हो। 

बलिउडमा प्रियंकाको गुरुदेखि एकेडेमीसम्म
सुनिलले आफ्नो करियरमा ४० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन्। उनी नेपालमा मात्र सीमित रहेनन्, दर्जनौँ बलिउड र भोजपुरी फिल्ममा पनि आफ्नो छाप छोडे। बलिउड फिल्म 'मेरी कोम'मा प्रियंका चोपडाको गुरु (नर्जित सिंह) को भूमिकामा देखिँदा उनले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा बटुले।

दाङमा जन्मिएर मुम्बईमा स्नातक पूरा गरेका थापा सधैँ नयाँ पुस्तालाई सिकाउन रुचाउँथे। पछिल्लो समय उनी 'एभरेष्ट फिल्म एकेडेमी' को अध्यक्षका रूपमा नयाँ कलाकारहरूलाई अभिनयको कखरा सिकाउँदै थिए।

'नाम नाम सत्य'
निधन हुनुभन्दा ठीक अघिल्लो दिनसम्म पनि उनी काममै थिए। आउँदो चैत २७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र 'नाम नाम सत्य'को छायाङ्कन भइरहेको थियो। सबैलाई 'सत्य'को पाठ सिकाउने र अभिनयका जीवन्त रङ्गहरू भर्ने यी योद्धा सुटिङ नसकिँदै अस्ताए।

फुटबल मैदान र मोडलिङको र्‍याम्पबाट सुरु भएको उनको यो यात्रा नेपाली सिनेमाको एउटा बलियो खम्बा बनेर टुङ्गिएको छ। अब हामीसँग पर्दामा 'राते काइला'का ती बिर्सन नसकिने दृश्यहरू मात्र बाँकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad