कला


इलाममा सञ्जालनमा आयो फ्रेन्ड्स सिनेमाजको नयाँ हल, पल शाहले गरे उद्घाटन

इलाममा सञ्जालनमा आयो फ्रेन्ड्स सिनेमाजको नयाँ हल, पल शाहले गरे उद्घाटन

नेपालखबर
फागुन १०, २०८२ आइतबार १२:५९, काठमाडौँ

धरान र बुटवलपछि पूर्वको इलाममा ‘फ्रेन्ड्स सिनेमा’ को नयाँ शाखा सञ्चालनमा आएको छ। शुक्रबार एक भव्य समारोहका बीच इलाम नगरपालिका–७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

नयाँ हलको उद्घाटन कार्यक्रममा अभिनेता पल शाहसहित अभिनेत्री उषा उप्रेती र निर्देशक तथा निर्माता चन्द्र पन्तको विशेष उपस्थिति रहेको थियो। 

आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साहित थिए । हल परिसरमा दर्शकको बाक्लो उपस्थिति र हुटिङले कार्यक्रम निकै उत्सवमय बनेको थियो ।

करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो हलमा १८८ सिट क्षमता रहेको छ। नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस सिनेमा हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ ।

फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा 'टुके प्रोजेक्सन' र 'डल्बी डिजिटल साउन्ड सिस्टम' जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।

सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङले इलामका दर्शकहरूलाई एउटा पारिवारिक र सुविधासम्पन्न वातावरणमा फिल्म हेर्ने अवसर प्रदान गर्न यो हल सञ्चालनमा ल्याइएको बताए।

फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली चलचित्रको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।

अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad