अभिनेत्री उषा रजक फिल्म ‘लालिमा’मा आमाको भूमिकामा देखिएकी छन्। यो पात्रको शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ।
‘लालिमा’मा जस्तै फरक क्षमताको पात्र उनले पहिल्यै निर्वाह गरेको थिइन्। तर, दुई दशकभन्दा लामो अभिनय यात्रामा पहिलोपटक आमाको भूमिकामा देखिएकी हुन्।
प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी यस पटक आमाको भूमिका निर्वाह गर्न कसरी तयार भइन्? ‘मलाई सामाजिक सञ्जालमा अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस् भनेर प्रतिक्रिया आएको थियो। दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ,’ उनले भनिन्।
फागुन २९ गतेबाट रिलिज हुने फिल्ममा रोश्नी कार्की, जीवन भट्टराई लगायतको मुख्य भूमिका छ। रोशन मिराजको लेखन र निर्देशनमा बनेको यस फिल्मको ट्रेलर अहिले युट्युबको ट्रेन्डिङ नम्बर ४ मा छ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ।
Shares

प्रतिक्रिया