तुलसी घिमिरे निर्देशीत फिल्म ‘पहाड’ को टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ। फिल्मका सबै कलाकारहरूलाई फिचर्ड छन्।
यो फिल्म आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुनेछ। निर्देशक घिमिरेले वितरकसँग छलफल गर्दै नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर आगामी वैशाख १ मा फिल्मको प्रदर्शन तय गरिएको जानकारी दिए।
उनले फिल्मबारे बताउँदै भने,‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा, अग्रजले जीवन समर्पण गरेका छन् । तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलयान भएका छन्, रोजगारीका लागि बसाई सरेका छन् । यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ, यसलाई समग्र नेपालकै कथा भन्दा हुन्छ।’
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन्। फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन्।
भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।
‘फिल्मको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरें । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनु भयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ । यसपटक दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु’, निर्देशक घिमिरेले भने ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतको अभिनय रहेको छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ,ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता छिन्।
Shares

प्रतिक्रिया