रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा सुनामी ल्याएको छ। रिलिजको ६ दिनमा यो फिल्मले विश्वभरबाट ९१९ करोड भारतीय रुपैयाँ कमाउँदै ऐतिहासिक सफलता हात पारेको छ। घरेलु बक्सअफिसमा भने यस फिल्मले ६८७.४३ करोड ग्रस कलेक्सन गरेको छ।
यससँगै रणवीरको यो फिल्मले सबैभन्दा छिटो ९०० करोड कमाउने मामलामा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को रेकर्डसँग बराबरी गरेको छ। यी दुवै फिल्मले मात्र ६ दिनमा यो आँकडा पार गरेका हुन्।
फिल्मले आमिर खानको ‘सिक्रेट सुपरस्टार’ र रणबीर कपुरको ‘एनिमल’ जस्ता ब्लकबस्टर फिल्महरूको लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ। ‘धुरन्धर २’ ले भारतमा मात्रै ५७५.६७ करोड नेट कलेक्सन गरिसकेको छ, जसमा हिन्दी भर्सनको दबदबा सबैभन्दा बढी देखिएको छ।
आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धरस् द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।
गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। पहिलो भागले विश्वभर १३०७ करोड भारु कमाएको थियो।

प्रतिक्रिया