हलिउड फिल्म ‘अवतार ३’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ। जेम्स क्यामरुन निर्देशित ‘अवतार: फायर एन्ड एस’ हलमा लागेको तीनमहिनाअघि ओटीटी प्लेटफर्ममा स्ट्रिमिङ हुँदैछ।
यो फिल्म ३१ मार्च २०२६ देखि ‘डिज्नी प्लस’ मा आउने पक्का भएको हो।
गत १७ डिसेम्बरमा रिलिज भएको यस फिलमले बक्स अफिसमा १.४९ बिलियन डलर कमाएको थियो। ४०० मिलियन डलरमा निर्माण भएको यो फिल्म उत्कृष्ट मेकिङ र प्राविधिक पक्षका कारण अस्कर अवार्डमा ‘बेस्ट भिजुअल इफेक्ट्स’ को अवार्ड जितेको थियो।
जेम्स क्यामरुनको यो फ्रेन्चाइज विश्वकै सबैभन्दा चर्चित सिरिज हो। ‘अवतार’ले हलिउडमा अहिलेसम्म पनि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ। त्यस्तै, सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ धेरै कमाउने हलिउड फिल्मको तेस्रो स्थानमा छ।
निर्देशक जेम्स क्यामरुनले पन्डोराको यो काल्पनिक संसारलाई अझ अगाडि लैजाने तयारीमा छन्। ‘अवतार ३’ पछि अब फ्यानहरू ‘अवतार ४’ र ‘अवतार ५’ को पर्खाइमा छन्। चौथो फिल्म सन् २०२९ मा र पाँचौँ फिल्म सन् २०३१ मा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया