बाल गायक अशोक दर्जी ८ वर्षपछि आफ्नो घर फर्किएका छन्।
सानैमा गीत गाएर भाइरल अशोक गायक तथा संगीतकार टंक बुढाथोकीको परिवारसँग रहेर संगीत र सिनेमा अभिनयसम्मको यात्रा गरेका थिए। तर, केही महिनादेखि भने उनी झापास्थित आफ्नै परिवारसँग बस्दै आएका छन्।
जुन कुरा टंक स्वयमले फेसबुकमार्फत जानकारी दिएका हुन्।
उनी लेख्छन्, ‘अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्। भगवानले जुराइ दिनुभएको हाम्रो सम्बन्ध, साथै यहाँसम्म आइपुग्दा तपाईंहरू सबैको साथ, हौसला र सहयोगअनुसार मैले पाएको जिम्मेवारी सकेसम्म राम्रोसँग निभाउने प्रयास गरेको छु भन्ने विश्वास लिएको छु। ८ वर्षसम्म आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन दिइन जस्तो लाग्छ।’
उनका अनुसार अशोकले ३/४ महिनाअघि झापास्थित आफ्नै परिवारसँग बस्दै त्यहाँको एक विद्यालयमा पढाइ सुरू गरिसकेका छन्।
सानो उमेरमै भाइरल बनेका अशोकलाई लिएर टंकले ७ वर्षअघि ‘मन बिनाको धन ठूलो धनबिनाको मन’ गीत ल्याएका थिए।
जुन गीतले निकै चर्चा पाएको थियो। यसै वर्ष टंकले अशोकलाई फिल्म ‘मन बिनाको धन’ बनाएका थिए। गत कात्तिकमा रिलिज भएको यो फिल्मले राम्रै व्यापार गरेको थियो।
अशोकले अब टंक बुढाथोकीकै फिल्म ‘बाआमा’ र नीता ढुंगानाको फिल्म ‘पार्वती’ पनि खेल्दैछन्।
Shares

प्रतिक्रिया