कला


बलिउड फिल्म ‘लुटेरा’की अभिनेत्रीलाई लिएर अमेरिकामा नाटक मञ्चन गर्दै विमल सुवेदी

बलिउड  फिल्म ‘लुटेरा’की अभिनेत्रीलाई लिएर अमेरिकामा नाटक मञ्चन गर्दै विमल सुवेदी

नेपालखबर
चैत १९, २०८२ बिहिबार १३:१३, काठमाडौँ

नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास ‘साबिति’ मा आधारित नाटक न्यूयोर्कस्थित द ट्याङ्क थिएटरमा मञ्चन हुने भएको छ।

बिमल सुवेदीको लेखन तथा निर्देशनमा नाटक ‘साबिति: नट गिल्टी’ मञ्चन हुने नाटकमा बलिउड फिल्म ‘लुटेरा’ की अभिनेत्री स्वच्छता गुहा मुख्य भूमिकामा देखिनेछिन्।

नाटकमा नेपाली मूलका अमेरिकी कलाकार नवल राई र दर्जनभन्दा बढी हलिउड चलचित्रमा काम गरिसकेका प्रसिद्ध अमेरिकी कलाकार जड मेयर्सले पनि अभिनय गर्दैछन्। सुवेदीलाई निर्देशनमा राज खत्रीले सहयोग गरिरहेका छन् भने कास्टिङ निर्देशन आयुषा क्षेत्री सञ्जेलले गरेकी छिन्।

नेपाल र भारतमा बारम्बार मञ्चन भएको नाटकलाई न्यूयोर्कको सन्दर्भ र त्यहाँका दर्शकलाई लक्षित गरी पुनर्लेखन तथा रूपान्तरण गरिएको छ। मूल उपन्यासले एक विपन्न पुरुष पात्रमार्फत कथा प्रस्तुत गरे पनि, नाट्य रूपान्तरणले त्यसको मूल सारलाई ग्रहण गर्दै महिला  पात्रमार्फत नयाँ दृष्टिकोण सिर्जना गरेको छ।

नाटकले महिला आवाज र सशक्तिकरणलाई अघि बढाउँदै सामाजिक रूपमा निर्माण गरिएका संस्थाहरूलाई आलोचनात्मक रूपमा प्रश्न गर्छ।

भारतको नेसनल स्कुल अफ ड्रामाबाट डिजाइन र निर्देशनमा स्नातक रंगकर्मी बिमल सुवेदीले नेपाली-अमेरिकी समुदायका अगुवा अमित प्रताप शाहको आपन फाउन्डेसन र द ट्याङ्क थिएटरसँगको सहकार्यमा नाटक गर्न लागेका हुन्। 

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले पनि यसलाई सांस्कृतिक कूटनीतिका रूपमा प्रवर्द्धन गर्दै आएको छ।

बिमल सुवेदीका अनुसार साबितीलाई न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी द ट्याङ्कले अन्य अमेरिकी नाटकहरू जस्तै नियमित रूपमा मञ्चन गर्दैछ। न्यूयोर्क सहरको मुटुमा अवस्थित यो थिएटरमा मञ्चनको पालो पाउन करिब सात महिनासम्म कुर्नु पर्ने हुन्छ।

तर द ट्याङ्क थिएटरकी निर्देशक मेगन फिनले ४६ औँ ब्याट्री डान्स थिएटर फेस्टिभलमा बिमलको काम देखेपछि चाँडै मञ्चनको चाँजो मिलाएकी हुन्। यो सम्भव गराउनमा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथन होल्यान्डरको भूमिका रहेको बिमलको भनाइ छ।

जोनाथनले भने, ‘फेस्टिभलका क्रममा बिमलसँग काम गर्दा म निकै प्रभावित भएँ। अमेरिकी दर्शकले पनि उनको सिर्जना अनुभव गर्नुपर्छ भन्ने लाग्यो। आजको जटिल विश्व सन्दर्भमा यो नाटक नेपाल रअमेरिकाबीचको सांस्कृतिक कूटनीतिको नयाँ सुरुवात हो।’

विगत दुई वर्षदेखि अमेरिकामा सक्रिय बिमलले गत वर्ष म्युजिकल नाटक ‘हिटलर फर्किए’ मञ्चन गरेका थिए, जसमा नेपाली अभिनेत्री वर्षा राउतले अभिनय गरेकी थिइन्।

बिमलका अनुसार नाटक दुई चरणमा गरी मञ्चन हुनेछ। पहिलो चरण अन्तर्गत नाटक अप्रिल २६ देखि सुरु भएर एक हप्तासम्म चल्नेछ भने त्यसपछि मे महिनामा पुनः प्रदर्शन गरिनेछ। यसपछि नाटक अन्य राज्यहरूमा पनि मञ्चन गर्ने योजना रहेको छ।

यसैबीच, बिमल सुबेदीको निर्देशनमा अमेरिकामा निर्माण भएको फिल्म ‘हिउँको गीत’ पनि यस वर्षको अन्त्यसम्म विश्व बजारमा प्रदर्शन हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad