कला


कमाइसँगै बढ्दै फिल्मको संख्या, यस वर्ष २५२ फिल्मले लिए निर्माण इजाजत

कमाइसँगै बढ्दै फिल्मको संख्या, यस वर्ष २५२ फिल्मले लिए निर्माण इजाजत

लक्ष्मी बलायर
चैत २३, २०८२ सोमबार १९:३७, काठमाडौँ

पछिल्लो समय फिल्मको संख्यामा वृद्धि भएको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यो वर्ष फिल्म २५२ फिल्महरूले निर्माण इजाजत लिएका छन्। यो निकै उत्साहजनक संख्या हो। जसमा फिचर फिल्मसहित सर्ट फिल्म र डकुमेन्ट्रीले इजाजत लिएको संख्या जोडिएको छ। 

कोरोनाको कहरपछि यो सबैभन्दा ठूलो संख्या हो। कोरोना महामारीबीच फिल्मको निर्माणदेखि व्यापार निकै घटेको थियो। विसं २०७७ सालभित्र जम्मा ७१ वटा फिल्महरूले निर्माण इजाजत लिँदा २०७८ सालमा भने ८९ फिल्मले इजाजत लिएका थिए। इजाजत लिएको ३ वर्षसम्म फिल्म प्रदर्शनमा नआए पुनः इजाजत लिनुपर्ने प्रावधान छ।

कोरोना कहरपछि २०७९ मा भने फिल्म निर्माणको संख्या झण्डै दोब्बरले बढेको थियो। त्यसवर्ष १५३ वटा फिल्मले बोर्डबाट निर्माण इजाजतको अनुमति लिएका थिए। फिल्म निर्माणमा मात्रै होइन्, २०७९ यता बक्सअफिस पनि केही चलायमान बनेको देखिन्छ।

सोही वर्ष रिलिज भएका ‘कबड्डी : फाइनल म्याच’देखि छक्का पञ्जा ४, महापुरुष, ए मेरो हजुर ४, झिँगे दाउ, २ नम्बरी लगायतका फिल्महरूले राम्रो व्यापार गरेका थिए। अझ रोचक त के छ भने ‘कबड्डी : फाइनल म्याच’ ले २४ करोडको ग्रस कलेक्सन गरेको थियो।  

फिल्मक्षेत्र चलायमान बनेसँगै २०८० मा फिल्म निर्माणको संख्या पनि बढेको देखिन्छ। जसअनुसार त्यसवर्ष १४२ वटा फिल्मले निर्माण इजाजत लिएका थिए। त्यसवर्ष व्यापारका हिसाबले औसत नै रह्यो। यद्यपि, जारी, परदेशी २, पशुपति प्रसाद: भष्मे डन,  महाजात्रा लगायतका फिल्महरू भने राम्रै चलेका थिए।  

२०८१ साल भने नेपाली सिनेजगतकै लागि स्वर्णिम काल बनिदियो। किनकि त्यस वर्ष नेपाली बक्सअफिसले ‘पूर्णबहादुरको सांरगी’ जस्तो सर्वकालीन ब्लकबस्टर पायो।

०८१ कात्तिममा रिलिज भएको यो फिल्म विभिन्न रेकर्ड बनाउँदै नेपाली बक्सअफिसमा ४७ करोड ग्रस कलेक्सन गर्न सफल भयो। त्यसपछि त निर्माताहरू बोर्डबाट इजाजत लिँदै धमाधम फिल्म निर्माण घोषणा गर्न थाले। बोर्डको तथ्यांकअनुसार २०८१ सालमा १९३ फिल्मले निर्माण इजाजत लिएको देखिन्छ।

पछिल्लो समय विदेशी फिल्मको तुलनामा नेपाली फिल्महरूले राम्रो व्यापार गरिरहेका छन्। २०८१ सालमा ‘पूर्णबहादुरको सांरगी’ ले ऐतिहासिक कमाइ गर्दा त्यस वर्ष स्टारभन्दा कथाहरूलाई दर्शकहरूले रुचाए। बोक्सीको घर, घरज्वाइँ, गाउँ आएको बाटो, शाम्बाला, १२ गाउँ, छक्का पञ्जा ५, फर्की फर्की, अञ्जिला लगायतका फिल्महरूले राम्रै पैसा छापे।

‘पूर्णबहादुरको सांरगी’ को सफलतासँगै फिल्म निर्माणमा पनि उल्लेखनीय रुपमा बढेको चलचित्र विकास बोर्डका अधिकारीहरू बताउँछन्। त्यसपछि व्यावसायिक घरानादेखि टेलिसिरियल बनाउनेहरू पनि फिल्म बनाउनतर्फ लागे। फिल्म निर्माणको संख्यामा मात्रै होइन, नेपाली फिल्महरूलाई पनि दर्शकहरूले रुचाएको पनि देखिन्छ।

२०८२ को चैत १८ गतेसम्म फिल्म निर्माण इजाजतको संख्या बढेर २५२ पुगेको छ। २०८२ सालको सुरुवातदेखि नै नेपाली फिल्मलाई दर्शकले मन पराएका छन्। प्रेम कथानक फिल्म ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ देखि पारिवारिक फिल्म ‘परान’ र ‘आबाट आमा’ले यसवर्ष निकै राम्रो गरे।

शेखर गोल्छाको लगानी रहेको ‘परान’ त यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो। १८ करोड ग्रस कलेक्सन गर्दै धेरै कमाउने चौथो फिल्म बनेको छ। यसवर्ष ९३ फिल्मले भने बोर्डबाट सेन्सर सिफारिस लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad