कला


स्वस्तिमा भन्छिन्– ‘लालीबजार’ मैले गरेकामध्ये धेरै वर्षसम्म सम्झिने फिल्ममा पर्छ

स्वस्तिमा भन्छिन्–  ‘लालीबजार’ मैले गरेकामध्ये धेरै वर्षसम्म सम्झिने फिल्ममा पर्छ

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १६:५६, काठमाडौँ

वैशाख १८ गतेबाट रिलिज हुने फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्। यस फिल्ममा उनले वादी समुदायको महिलालाई प्रतिनिधित्व गरेकी छिन्। जहाँ उनले यौनकर्मीको भूमिका निर्वाह गरेकी छिन्। 

अभिनेत्री खड्काले फिल्म ‘लालीबजार’ आफ्नो लागि विशेष फिल्म रहेको बताइन्। आमाको सङ्घर्ष र सफलताको कथा बताउँदै यो फिल्म आफूले वर्षौसम्म सम्झिने फिल्ममा पर्ने उनको भनाइ छ। 

‘लालीबजार मेरो लागि निकै स्पेसल फिल्म बनेको छ। मैले गरेका फिल्महरूमा धेरै समयमा सम्झिने र आगामी धेरै वर्षसम्म कुरा हुने फिल्ममा यो पर्ने छ। म यो कथालाई लिड गर्न पाउँदा वा आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छु,’उनले भनिन्। 

अभिनेता रवीन्द्र सिंह बानियाँले पनि फिल्मले एउटा महिलाको जीवनका विभिन्न आयामलाई समेटेको बताए।  ‘हामीले एउटा सेटअपमा फिल्मको कथा व्यक्त गरेका छौँ, तर यो आमा र छोरीको कथा हो। बाध्यता, विश्वस्ता, संघर्ष र सफलतालाई यसमा देखाइएको छ’, उनले भने।

यस फिल्ममा स्वस्तिमा र रवीन्द्रसँगै मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र  विशाल देवकोटा लगायतको अभिनय छ। 

निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन्। यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।

‘लालीबजारको कथा निर्देशक थापाले नै ल्याउनुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्नसक्नु हुन्छ भन्ने लगेर हामीले निर्देशनको प्रस्ताव गरेका हौँ। अहिले हामीले सही निर्णय गरेका थियौँ भन्ने लागेको छ, फिल्ममा निर्देशकको दिमागसँगै उहाँको देखाई र बुझाइ मिसिएको छ', कार्यकारी निर्माता प्रदीप भट्टराईले भने ।  

निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन्। कथाकै छलफलका क्रम निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको थियो ।

‘षट्कोण आर्ट्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरेको थियो, सोहिक्रममा छलफल गर्न हाम्रो भेट भएको थियो । छलफलकै क्रममा राम्रो कथा पाएमा लगानी गर्ने रवीन्द्रसिंह बानियाँले भन्नुभयो। मसँग रहेको आमाको विषय मैले दिए, केही दिनमा यसमा काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त भयौँ। त्यसरी लालीबजारको सुरुआत भएको हो’, निर्देशक थापाले भने ।

फिल्मको पटकथा लगभग फाइनल भएपछि छायांकनस्थल भिजिटका क्रममा निर्देशक भट्टराईले नै फिल्मको नाम ’लालीबजार’ राख्न प्रस्ताव गरे, जसमा सबै सहमत भए। निर्देशक थापाले आमाछोरीको कथामा फिल्म तयार भएको बताए।

‘मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको छु। यो आमा र छोरीको कथा हो, जो बादी समुदायको छन्। फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ। यो फिल्मले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’, निर्देशक थापाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad