गण्डकी


गृहमन्त्री सुधनले करोडभन्दा बढी खन्याएको फेवाताल पारिको जग्गा कस्तो हो?

गृहमन्त्री सुधनले करोडभन्दा बढी खन्याएको फेवाताल पारिको जग्गा कस्तो हो?

वाशुदेव मिश्र
बैशाख ४, २०८३ शुक्रबार १६:३४, पोखरा

फेवातालको ठ्याक्कै पारिपट्टिको पाखोमा उनका पुर्खाहरू कहिलेदेखि बस्न थाले? 

सुवेदार गजबहादुर गुरुङलाई ठ्याक्कै पत्तो छैन। गजबहादुरले आफ्ना बाजे धर्मसिंह गुरुङले भनेको कुरातिर फर्के।

‘हाम्रा बाजेको बा चाहिँ कुवेरा, कुवेराका बा लक्ष्मीमान अनि लक्ष्मीमानका बाबा बखतबहादुर रहेछन्। हाम्रा बा मेखबहादुरसम्म अनि हामी चार भाइसम्मको हिसाब गर्दा त ३ सय वर्षभन्दा माथि नै होला नि ’,यति भनिसकेपछि सुवेदार गजबहादुरले केही बेर गम खाए। सायद,उनी मान्छेको आयूसँग आफ्नो पुस्ताले बाँचेको समयको जोड–घटाउ गर्दैछन्! 

गजबहादुर लाहुरे बने। सुवेदारबाट पेन्सन आएका उनलाई पल्टनमा नम्बरले बोलाइन्थ्यो। नाम गुमनाम हुन्थ्यो। हाल पोखरा २२, ससुरको बगरभन्दामाथिको पाखोमा बस्ने गजबहादुर हिजोसम्म कसैका छोरा, कसैका पिता अनि कसैका दौंतरी थिए। दुनियाको नजरमा चाहिँ गुमनामजस्तै! तर, पछिल्लो समय उनी एकाएक चर्चामा आए। कारण– हालका गृहमन्त्री सुधन गुरुङले उनीहरूले चर्चेको जग्गामा बनाएको संरचना र त्यसले निम्त्याएको विवाद। 

फेवातालमा क्रुज दौडाउने, मान्छेलाई पानीमै मनोरञ्जन दिलाउने व्यवसाय गर्ने सपनासहित करिब ६ वर्षअघि पोखरा आएका सुधनले तालसँगै जोडिएको एउटा जग्गामा सपना रोप्ने मन गरेछन्। जग्गा कसको हो भन्ने खोजखबर गर्दा गजबहादुरहरूको भएको पत्ता लगाएछन्। 

‘तपाईंहरूको जग्गा रहेछ, भाडा दिनुहुन्छ? बेच्नुहुन्छ भने पनि बेच्नुहोस्’,सुधनले गजबहादुरसँग भनेछन्। 

‘हामी ८ भाइको जग्गा हो, छलफल गर्नुपर्छ,’ गजबहादुरले भनेछन्।

त्यसपछि दाजुभाइहरू छलफलमा जुटेछन्। खोलाले खेतमा ढुंगामाटो हुलेको थियो। खेती गर्न पनि गाह्रो। जग्गा भाडामा दिने सहमति भएछ। सुधनले भाडा अवधि १५ वर्ष हुनुपर्छ भन्दा गजबहादुरले चाहिँ १० वर्षमा सहमति जनाएछन्। ५ वर्षमा भाडा बढाउने र हरेक वर्ष २ लाख रुपैयाँ भाडा दिने सहमति भएछ। 

त्यसपछि सुधनले ससुरको बगरमा सपना रोप्न थाले। केही भौतिक संरचना बनाए। निर्माणको क्रममा गाउँमै बसे। तालपारिको रहन–सहनमै रत्तिएछन्। सुधनले त्यो बेला तालमा डुंगा चलाउने र त्यो डुंगा सर्लक्क आफूले बनाएको ठाउँमा थन्क्याउने संरचना बनाउँदै थिए रे! अचानक सँधियारसँग उनको खटपट भएछ। सधिँयारको जग्गानेर सेफ्टीट्याङ्की बनाउन लाग्दा भएको विवाद मिलाउन सुधनले प्रयत्न पनि गरेका थिए रे! तर,बीचमा निर्माणको काम त्यत्तिकै छाडेर काठमाडौंतिर लागेका उनी फर्केनछन्। 

गएको भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि सुधनको परिचय फेरियो। गोर्खा १ बाट फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनाव जितेका सुधन अहिले देशको गृहमन्त्री छन्। उनकै अगुवाइमा जब फेवातालको मापदण्ड कार्यान्वयनको लागि भन्दै फागुन २१ गते फेवाताल वरपरका संरचनाहरूमा डोजर चलाइयो। त्यही बेला पोखराका मेयर धनराज आचार्यले सार्वजनिक संचार माध्यममार्फत्‘फेवाको मापदण्डभित्र गृहमन्त्रीको जग्गा पनि रहेको र त्यो जग्गामा पनि डोजर चलाउन भनेको’ जानकारी गराए। 

गृहमन्त्रीको पनि जग्गा रहेको सूचना पच्छ्याउँदै संचार माध्यमहरू पोखरा २२, ससुरको बगर पुगे। चर्चाकै बीचमा गृहमन्त्री सुधनले आफूसहितका ३ जना साथी मिलेर फेवातालमा साहसिक जलखेल संचालनको लागि एडेभेन्चर नेपाल प्रालि नामक कम्पनी खडा गरेको र तालपारि जग्गा भाडामा लिएको स्वीकारे तर स्वीकारोक्तिसँगै आफूलाई सो जग्गा फेवाको ६५ मिटर मापदण्डभित्र पर्ने कुरा थाहा नभएको पनि जिकिर गरे।

उनले सामाजिक सञ्जालमार्फत् भनेका थिए,‘देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठूलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ। जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपुर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए। तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ। हामीलाई झुक्क्याएर, ठगेर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ। एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन। हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध, कडाभन्दा कडा कानुनी उपचारका लागि हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभइ अगाडि बढ्ने ब्यहोरा सबैमा अवगत गराउन चाहन्छु।’

सुधन कति पानीमाथिको ओभानो छन्? यो समयक्रममा खुल्दै जाला तर वाटर स्पोर्टस्को चरित्र, फेवासँगै जोडेर बनाउन खोजिएका संरचना अनि निर्माण कार्य सुरु भएपछि पोखरा महानगरपालिकाको चक्कर लगाएको स्वीकारोक्तिले उनी तालसँग कुनै न कुनै रुपमा जोडिन चाहन्थे भन्ने तर्कलाई बलियो बनाउँछ। जग्गाको वैधानिकता अर्को कुरा! 

सुधनले कहाँ र कस्तो जग्गामा संरचना बनाए? यो प्रसङ्ग पछि जोडौँला। अहिले चाहिँ सुवेदार गजबहादुरतिर फर्कौँ। 

हामीले माथि नै भन्यौँ। सुवेदार गजबहादुरका तीनपुस्तेमात्र हैन,त्यसअघिका तीन पुस्ताले पनि फेवा किनारको जग्गामा नङ्ग्रा खियाएका छन्। सुवेदारले नाम लिएका बखतबहादुरको पालामा जग्गाको लालपुर्जा भन्ने कुरै थिएन। बाजे धर्मसिंह गुरुङको पालासम्म पनि मुखियाको आदेशमै जग्गाको हक कायम हुन्थ्यो। त्यो तालको मापदण्ड कति, कहाँसम्म खेती गर्ने भन्ने नियम बनेकै थिएन। पानीले छाडेको मलिलो जग्गामा खेती हुन्थ्यो। तालपारि लामडाँडाका गुरुङहरू तालवारिको रात्माटामा लास गाड्न ल्याउँथे। त्यो बेला तालपारिको त्यो क्षेत्र लुकुस्वाँरा गाविस वडा नम्बर ८ मा पर्थ्यो। 

जिल्ला मालपोत कार्यालयको स्रेस्ता अनुसार धर्मसिंहका ३ छोराबीच जग्गाको अंशबण्डा हुँदा रेशमलालको भागमा कित्ता नम्बर ३०९, मेखबहादुरलाई ३१० र वृषबहादुरलाई ३११ नम्बरको कित्ता पर्‍यो। फेवातालको अतिक्रमित जग्गा छानबिनका निम्ति गठित विश्वप्रकाश लामिछाने आयोगको प्रतिवेदनले  ससरूक खोलाको आसपासमा पर्ने लालपुर्जा भएका यी सबै कित्ताहरू संरक्षित क्षेत्रभित्र राखेको छ। त्यसो त, त्यहाँ मेखबहादुरको नाममा ३१४, ३१५, ३१६ र ३१८ नम्बरका अन्य कित्ता पनि रहेका छन्।

सुवेदार गजबहादुर कित्ता नम्बर ३१० सहित  अन्य जग्गाका धनी मेखबहादुरका जेठा छोरा हुन् भने उनीपछि होमबहादुर,रामबहादुर र सूर्यबहादुर गरी तीन भाइ छन्। एक छोरीलाई पनि त्यो जग्गाबाट अंश दिइएपछि नयाँ नापीमा त्यो कित्ता पनि विभिन्न नयाँ कित्तामा बाँडिएको छ। हालका गृहमन्त्रीलाई जग्गा भाडामा दिने बेला दाजुभाइसँग सरसल्लाह गर्नुपरेको कारण पनि त्यही हो। 

गजबहादुरका अनुसार हालका गृहमन्त्री सुधनसँग लिखित सम्झौता गरी भाडामा दिइएको जग्गा त्यही क्षेत्र नम्बर ३१० को बाँडिएका कित्ताहरू नै हुन्। भोगचलन गर्दै आइरहेको केही जग्गा भने २०३२ सालको नापी हुँदा छुटेको हुनसक्ने उनले स्वीकारे। आफ्ना पितालाई उधृत गर्दै उनले भने ,‘त्यो बेला खोला खेतमा पसेको रहेछ। नापीका  मान्छेले त्यो बेला केही जग्गा नापेनछन्। भोगचलन चाहिँ हाम्रा बाजेका पनि बाजेले गरेकै हुन्।’

हो,गजबहादुरको कुरा सत्य छ। कित्ता नम्बर ३१० सँगै जोडिएको कित्ता नम्बर ३११ लाई मालपोत कार्यालयले पर्तीमा राखेको छ। ६ रोपनी हाराहारीको जग्गा वरपरका जग्गाधनीले नै चर्चेका छन्। त्यसको वरपर रेशमलालको ३०९, मेखलालको ३१०, बृखबहादुरको नाममा ३१२ र रमेशलाल गुरुङको नाममा ३१३ नम्बरको कित्ताको लालपुर्जा छ। अहिले गृहमन्त्री सुधनले निर्माण गरेका अधिकांश संरचना चाहिँ त्यही कित्ता नम्बर ३११ मा परेको आकलन गरिएको छ। किनकि,नक्सामा हेर्दा त्यो कित्ता तालसँग जोडिएको देखिन्छ।

हालका गृहमन्त्री सुधन र जग्गाधनीहरूबीच कुन कित्ताको जग्गा भाडामा दिनेबारे सम्झौता भएको हो भन्ने प्रष्ट भएको छैन। नेपालखबरसँगको भेटमा सुवेदार गजबहादुरले लिखित सम्झौता आफूसँग नभएको र त्यो सुधन अनि आफ्नो भारत बस्ने भाइ (सूर्यबहादुर) सँग हुनसक्ने बताए। 
जग्गा नै मापदण्डभित्र पर्नेबारे आफूलाई जानकारी नभएको र ठगिएकोले कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने गृहमन्त्रीको भनाइप्रति चाहिँ उनले अनभिज्ञता प्रकट गरे  ।

‘हामीले जग्गा दिने बेला उहाँ (सुधन) लाई सबै कुरा भनेको हो। हाम्रा बाजेभन्दा पनि पहिलादेखि खनजोत गरिएको जग्गा किन हाम्रो हुँदैन र? गाउँलेलाई सोधे पनि थाहा भइहाल्छ, हामीसँग त्यसअगाडि १९९० सालमा दर्ता भएको प्रमाण पनि थियो। तिरो पनि तिरकै हो,’सुवेदार गजबहादुरले थपे।

बाबुबाजेको पालादेखि भोगचलन गर्दै आइरहेको जग्गामा लगाइएको मापदण्डप्रति उनको गहिरो असहमति छ। उनले तालको वरपर पुस्तौँदेखि बस्दै आएका रैथाने गुरुङ,जलारी,भुजेलसहितका अन्य स्थानीयको माग राज्यले सुनोस् भन्ने कामना पनि गरे। 

पछिल्लो समय सुवेदार गजबहादुरहरू संचार माध्यमको प्रश्न, माइक र क्यामेरादेखि तर्सेका छन्। शक्तिशाली गृहमन्त्री सुधनसँग उनीहरूको दाजुभाइको सम्बन्ध छ। ल्होछारमा सँगै भोज खाएको,आफ्नो गाउँको समाजघरलाई सुधनले सहयोग गरेको अनि आफूहरूले सम्मान गरेका सम्झनाहरू उनीसँग ताजै छन्। तर,पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा नै छिनिएला कि? आफूमाथि नै कारबाही पो होला कि भन्ने त्रास बढ्नुमा उनीहरू मिडियालाई नै कारक ठान्छन्। नेपालखबरको पटक–पटक भेट्ने आग्रहलाई लत्याउँदै गजबहादुरले भनेका थिए,‘हाम्लाई मिडियासँग बोल्नु छैन।’

धेरैपटकको प्रयासपछि उनीसँग साक्षात्कार भयो।

अनि हामीले भन्यौँ,‘गृहमन्त्री सुधनले पनि करोडभन्दा माथिको पैसा ससरूक खोला (सँगैको खेत पुर्ने खोला) मा बगाएका छन्। उनलाई पनि यो क्षेत्र र तपाईंको माया होला नि। के तपाईंले उहाँको सम्पत्ति कति छ भन्ने थाहा पाउनु भएको छ?’

सुवेदार मुस्कुराए।

‘उत्साह भएको, केही गरौँ भन्ने भावना भएको मान्छे हो। अहिले त उहाँ व्यस्त हुनुहुन्छ होला। फोन आयो भने म हाम्रा दुःख चाहिँ बिसाउँछु,’मालेपाटनको गोलचौतारामा भएको कुराकानी बिट मार्दै उनले थपे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad