कला


सकियो नेपथ्यको क्यानडा यात्रा

सकियो नेपथ्यको क्यानडा यात्रा

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १७:१७, काठमाडौँ

नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ। लोकरक ब्यान्डले दुई साता लामो यात्राको अन्तिम कन्सर्ट शनिबार ओन्तारियो राज्यको लन्डनस्थित ‘लन्डन म्युजिक हल’ मा गरेको हो ।

सानो सहर भएर पनि दर्शकको भव्य उपस्थितिमाझ सांगीतिक प्रस्तुति भएको थियो। बाहिरबाट हेर्दा युरोपको पुरानो थिएटरको झलक मिल्ने हलमा बेलुकी ७ बजे ढोका खुला गरिएको थियो। आधुनिक कन्सर्टका हिसाबले तयार पारिएको भित्री हल त्यति बेला दर्शकले भरिभराउ बनिसकेको थियो।

पहिलो प्रस्तुति स्वरूप विशाल पर्दामा ‘सा कर्णाली’ गुन्जिनासाथ हौसिएका दर्शकको ऊर्जा पछिसम्मै निरन्तर बढ्दै गएको देखिन्थ्यो। हलमा  दर्शक त्यस सहरका मात्रै थिएनन्।

ओटावाबाट सात घण्टा लामो मोटर यात्रा गरेर आइपुगेका सुदन गुरुङको सिङ्गो परिवार पनि हलभित्र अटाएको थियो । उनका साथमा आमा, श्रीमती, बहिनीहरू र भतिजीहरू थिए।

‘जीवनमा एकपटक नेपथ्य अनुभव छुटाउनु हुँदैन भनेर साथीभाइबाट चर्चा सुन्दै आए पनि यसपाला बल्ल संयोग जुर्‍यो,’ झापा दमकबाट १५ वर्षअघि क्यानडा आएका मानसिक रोग परामर्शदाता सुदनले भने, ‘भएभरका दर्शकलाई दुई घण्टा टिमिक्कै बाँधेर राख्ने यो शोका कारण पूरै परिवारका निम्ति उत्सवमय सप्ताहान्त बनेको छ।’

सधैँजस्तै कन्सर्ट अवधिभर गायक अमृत गुरुङले विदेशमा रहेका बेला मिलेर बस्न र स्वदेशलाई नबिर्सन दर्शकलाई अनुरोध गरेका थिए।

‘नेपथ्य बाल्यकालदेखि हाम्रो रगतमै मिसिएको स्वादजस्तो भइसक्यो, जसलाई क्यानडामा पाउँदा पनि घरै पुगेको महसुस हुन्छ,’ अर्का दर्शक मधुसूदन थापा भनिरहेका थिए, ‘यति धेरै चिनिएका मानिसबीच बसेर कन्सर्ट हेराइ मेरा निम्ति क्यानडा बसाइकै उत्कृष्ट क्षण बन्न पुगेको छ ।’

मधुसूदन टोयोटा कम्पनीको पार्ट बनाउने कारखानामा कार्यरत छन्, जहाँ ६ सय कामदार छन् र तिनमा आधाजस्तो नेपालीभाषी छन् ।

कन्सर्ट हेर्न आउनेमा नेपाली मात्र थिएनन्। मोटरमा एक घण्टा परको स्ट्राटफोर्डबाट सपत्नी यात्रा गर्दै उपस्थिति जनाएर एरिक प्राउडलभले पनि रमाइलो गरे। ६० वर्षीय एरिकका अनुसार कन्सर्टमा सङ्गीतको ताल, दर्शकको लगाव र मञ्चमा प्रस्तोताको तालमेल उनलाई विशेष उल्लेखनीय लाग्यो ।

हिजोआज नेपथ्यको समुद्रपार यात्रामा भुटानबाट पुनर्वास गराइएका नेपालीभाषीको उल्लेख्य उपस्थिति देख्न सकिन्छ। नातिनीको साथ लागेर यहाँको कन्सर्टमा आएकी ७७ वर्षीया धनमाया तामाङका लागि अन्य खाले नेपाली कार्यक्रममा उपस्थिति नियमित भए पनि रक कन्सर्ट भने जीवनकै पहिलो अनुभव भयो।

‘कस्तो रमाइलो!’ उनले भनिन्, ‘मलाई त उहिले उहिले हल गएर सिनेमा हेरेको जस्तो पो लाग्यो ।’

जिजुबाजे भुटान गएपछि उनको परिवार उतैको बनेको थियो। आफू भने ४५ वर्षको उमेरमा धपाइएर नेपाल आउनुपरेको उनले सुनाइन्। त्यसपछिको १८ वर्ष नेपाल बसाइपछि उनी क्यानडा आइपुगेकी रहिछन्।

‘गीत गाइरहेको बेला पर्दामा देखिएकी वृद्धाले लगाएको गहनाले समेत मलाई रमाइलो पार्‍यो,’ अमृतले गाउँ जाँदा खिचेका तस्बिरको बयान गर्दै उनले थपिन्, ‘हाम्रो पालाका त्यस्ता गहना हिजोआज लगाउनु त परको कुरा, देखिनै पो छाडे ।’

कन्सर्ट हेर्न आएका अर्का वृद्ध ७५ वर्षीय चित्र प्रधानको पनि भुटानसँगै साइनो जोडिएको छ। भुटानमा पहिलोपटक पाठ्यक्रम तय गरिँदा निर्देशक रहेका प्रधान बितेको ३५ वर्षदेखि क्यानाडा बसोबास गर्दै आएका रहेछन् ।

‘गीत मात्रै गाएर यो कार्यक्रम यति रमाइलो भएको जस्तो लागेन,’ उनले भने, ‘गायक अमृतमा देखिने धीर चरित्र र सरल भाषाबाट सबैलाई एकतामा उन्न सक्ने उनको सन्देशले पनि धेरै प्रभाव पार्दो रहेछ ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘यति सानो सहरमा नेपथ्यलाई उपस्थित गराउन सक्नु नै सबैभन्दा ठूलो सफलताजस्तो लागिरहेको छ,’ स्थानीय आयोजक टोलीका दीक्षान्त खड्गी भन्छन्, ‘हेरेर फर्किएका दर्शकबाट पाइरहेको धन्यवादका सन्देशहरूले बेग्लै आनन्द महसुस भइरहेको छ ।’

यो वर्ष क्यानडाको सदबरी सहरबाट सुरु भएको नेपथ्य यात्रा मुलुककै मुख्य व्यापारिक केन्द्र टोरन्टो हुँदै अन्तिममा ओन्तारियो राज्यको लन्डनको प्रस्तुतिबाट टुङ्गिएको छ । शनिबारको अन्तिम शो सकिएसँगै कलाकार, प्राविधिक र व्यवस्थापन गरेर १४ सदस्यीय टोली स्वदेश फर्किएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad