रंगमञ्चका चम्किला बत्तीहरू निभेपछि एउटा कलाकार कस्तो देखिन्छ? तालीको गडगडाहट रोकिएपछि उसको मनभित्र कस्तो धुन बज्दो हो? र, हजारौँ दर्शकलाई उसको स्वरमा झुमाउने–नचाउने एउटा चर्चित गायक जब ऐनाको अगाडि एक्लै उभिन्छ, उसले त्यहाँ कस्तो मान्छे देख्छ?
नेपालखबर सो ‘लेट्स टक’मा दोस्रो सिजनको पहिलो अतिथि बनेर आइपुगेका प्रकाश सपुतसँग गफ गरिरहँदा यी प्रश्नहरू हावामा तैरिरहेका थिए। उनी हाँसिरहेका थिए, तर त्यो हाँसोभित्र एउटा यस्तो मान्छे लुकेको थियो, जो वर्षौँदेखि एउटा अनौठो ‘एन्जाइटी’ र छटपटीमा बाँचिरहेको छ। मानौँ, उनको मुस्कान एउटा सुन्दर आवरण मात्रै हो, जसभित्र एउटा सर्जक आफ्नै अस्तित्वसँग लुकामारी खेलिरहेछ।
‘म कहिल्यै खुसी देखिन्नँ, खुसी हुनै जान्दिनँ,’ प्रकाशले निकै गम्भीर भएर भने, ‘कलाकारको बाँच्ने अभ्यास नै अर्को पात्र भएर बाँच्नु रैछ। मलाई आफ्नो जिन्दगी पहिल्यैदेखि अलि कुण्ठा जस्तो, अलि दुःख जस्तो लाग्छ। त्यसैले म कहिले ‘सकम्बरी’को गायक भएर बाँच्छु, कहिले ‘पीर’को लडाकु। आफैँ भएर बाँच्न मलाई अलि गह्रुँङ्गो लाग्छ।’
आफ्नो असली परिचय बोक्नुभन्दा अरूको भूमिकामा हराउनु नै उनलाई सायद सुरक्षित लाग्छ। प्रकाशलाई धेरैले उचाइमा मात्रै देखे तर यथार्थमा उनको जीवनको जग अभाव र विभेदमा उभिएको छ। त्यसैले उनी आफूलाई सधैँ भुइँको मान्छे नै सम्झन्छन्।
धेरै पहिले उनले नयाँ पत्रिकासँग नविन प्यासीसँगको कुराकानीमा भनेका थिए– ‘मलाई देख्नेहरूले भुइँबाट उठेको देख्लान्, तर त्यसो होइन। म भुइँभन्दा तल खाडलबाट उठेको हुँ। अहिले म सबैले देख्ने ठाउँमा छु भनेर गर्व लाग्दैन। यो उचाइबाट एक दिन त झर्नैपर्छ। तर, खुसी यसमा लाग्छ कि अब झर्दा पनि म भुइँसम्म मात्र झर्छु, त्यो खाडलमा झर्नु पर्दैन।’

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’सँग सम्म आइपुग्दा प्रकाशले सफलताको ठूलो आकाश देखे। तर, जब उनको आफ्नै लेखन, निर्देशन र अभिनय रहेको फिल्म ‘वसन्त’ बक्सअफिसमा असफल भयो, त्यसपछि उनले जमिनको तितो यथार्थ पनि महसुस गरे। धेरैले त्यतिबेला प्रकाशको उकालो यात्रामा ब्रेक लागेर ओरालो यात्रा सुरु भएको टिप्पणी नगरेका होइनन्।
तर, त्यसबेला पनि उनले सम्हालिदै भने, ‘म भुइँभन्दा पनि मुनि खाडलबाट उठेको मान्छे हुँ। त्यसैले मलाई उचाइबाट खस्छु कि भन्ने डर लाग्दैन। खसे पनि म जमिनमै त आइपुग्ने हो, फेरि खाडलमा त पुग्दिनँ नि।’
यद्यपि, त्यो असफलताले उनलाई जुन मानसिक अवस्थामा पुर्यायो, त्यो निकै कष्टकर थियो।
‘म विचलितभन्दा पनि एकदमै अल्मलिएको थिएँ,’ प्रकाश सम्झन्छन्, ‘के सही, के गलत छुट्याउन सकिरहेको थिइनँ। त्यो बेला म धेरै रोएँ। मलाई फिल्म नचलेकोमा भन्दा पनि, म एउटा मान्छेको जिद्दीका कारण धेरै मान्छेलाई दुःख भयो भन्ने कुराले पिरोल्यो। निर्माताको पैसा डुब्यो, वितरकहरू दुःखी भए। त्यो एउटै इमोसनमा लेखक, मेकर, निर्देशक सबै असफल हुँदा मलाई निकै गाह्रो भयो। एक खालको एन्जाइटी नै भयो।’
त्यो समय प्रकाशका लागि केवल एउटा फिल्मको असफलता मात्र थिएन, त्यो उनको ‘ओभरकन्फिडेन्स’ मा लागेको एउटा ठूलो चोट थियो।
‘म म्युजिक भिडिओमा सफल भइरहेको थिएँ, मान्छेले खतरा कथा भन्नुहुन्छ भन्थे, त्यही कुराले अलि मात्तिएँ कि जस्तो लाग्छ,’ प्रकाश आज आत्मसमीक्षा गर्दै भन्छन्, ‘फिल्म त अर्कै विधा रहेछ। यो मेरो लागि महँगो सिकाइ भयो। फिल्म बनाएरै पढेँ, करोडौँ खर्च भयो, सर्टिफिकेट पाइएन तर अनुभव पाइयो।’
बालेन शाहको टिमबाट जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीको दलित क्लस्टरमा पुरुषतर्फ दोस्रो नम्बरमा प्रकाशको नाम देखियो, त्यसबेला सामाजिक सञ्जालमा उनीमाथि प्रश्नको वर्षा भयो। कतिपयले उनी जत्तिको कलाकारले प्रत्यक्षमा लड्नुपर्ने भनेर आलोचना गरे। कतिपयले ‘अवसरवादी’ भने। समानुपातिक सांसद नभएपछि पुनः कलाकारितामा फर्किएका उनलाई आज पनि कतिपयले अवसरवादी भनिरहेका छन्। तर, प्रकाश यो ट्यागलाई न गहना मान्छन्, न गाली।
उनी भन्छन्, ‘अवसरलाई चिन्नु र समात्नु व्यावहारिक कुरा हो। म त सधैँ मुद्दाहरूसँग उभिएको मान्छे हो। यदि मेरो राजनीतिमा कुनै योगदान नै नभएको भए मलाई अवसरवादी भन्न मिल्थ्यो होला।’
अन्तिम समयमा समानुपातिक सांसदको सूचीमा आफ्नो नाम नपर्दा पनि उनलाई कुनै गुनासो छैन।
‘म सधैँ भन्थेँ– म छुटेको मान्छे हुँ, अब छुट्न चाहन्नँ। तर, यसपटक जुन परिवर्तनको सुरुवात देशमा भयो, म त्यसको हिस्सा हुन पाएँ। त्यसकारण सांसद नभए पनि म भनिरहेको छु– म यसपटक छुटिनँ,’ प्रकाशले भने।

प्रकाश बालेन र रवि लामिछाने दुवैका प्रशंसक हुन्। बालेनसँगको भेटको स्मरण पनि गरे।
‘समानुपातिक सूचीमा मेरो नाम राखेपछि जब मैले बालेनजीलाई भेटेँ। त्यसबेलादेखि उहाँको इमानदारी र सार्प माइन्डबाट म निकै प्रभावित छु,’ उनले सम्झिए, ‘उहाँ यति धेरै स्मार्ट र सचेत हुनुहुन्छ कि कसैलाई सजिलै ‘ट्रस्ट’ गरेर काम गर्न छोडिदिनुहुन्छ, तर कसैको नियत खराब छ भने उहाँले तुरुन्तै थाहा पाइहाल्नुहुन्छ। उहाँले आफ्नो व्यक्तिगत स्वार्थका लागि यो राज्यशक्ति प्रयोग गर्नुहुन्छ जस्तो मलाई लाग्दैन। उहाँको सरलता र स्पष्ट भिजन नै उहाँको सबैभन्दा ठूलो शक्ति हो।’
अचम्मको कुरा त के छ भने प्रकाशलाई सांसद नभएकोमा भन्दा बढी चिन्ता समाजमा व्याप्त ‘बढी जान्ने’ भाइरसको छ।
उनी भन्छन्, ‘अहिलेको सबैभन्दा ठूलो भाइरस भनेको– मलाई सबै थाहा छ, मैले भनेको मात्र सही हो भन्ने सोच हो। यो सोचले समाजलाई अघि बढ्न दिएको छैन।’
शुक्रबारबाट प्रकाश हलमा फर्किएका छन्, गुरुप्रसाद मैनालीको चर्चित कृतिमाथि बनेको फिल्म ‘परालको आगो’मार्फत। त्यो पनि कृतिको चर्चित पात्र ‘चामे’ बनेर। चामे– जो छिट्टै सन्किन्छ, रिसले दन्किन्छ र फेरि छिट्टै शान्त हुन्छ।
प्रकाश भन्छन्, ‘यसपालि चाहिँ साँच्चिकै एउटा अभिनेता महसुस भइरहेको छ, किनभने म आफूभन्दा नितान्त भिन्न र एउटा विशिष्ट पात्रको रूपमा बाँचिरहेको छु। अर्को कुरा, मेरो रिस पनि परालको आगो जस्तै छ। सल्कियो र सकियो। म रिस साँचेर राख्ने स्वभावको मान्छे होइन।’
विगतका संघर्षका दिनहरू सम्झिँदा उनी दोहोरी साँझलाई कहिल्यै भुल्दैनन्। दुबईको दोहोरी साँझमा दुई महिना श्रमिक बनेर काम गरेको समय होस् वा काठमाडौँका गल्लीमा खाएको ठक्कर, उनले ती सबैलाई आफ्नो सिर्जनामा उनेका छन्।
आफ्नो थर ‘विश्वकर्मा’ लेख्दा राज्यले गर्व गर्ने वातावरण नबनाएकोमा उनको चित्तदुखाइ अझै छ। तर, उनी मुद्दासँग डराउँदैनन्।
उनी जोड दिएर भन्छन्, ‘मुद्दाको कुरा आउँदा म आज पनि आफ्नो समुदाय र पहिचानका साथ जोडदार रूपमा उभिन्छु।’
आलोचकहरूले प्रकाशलाई ‘विभेद बेचेर व्यापार गरेको’ आरोप लगाउने गर्छन्। तर, प्रकाश यो कुरालाई स्वीकार गर्दैनन्। उनको लागि विभेद बेच्ने वस्तु होइन, यो त पुस्तौँदेखि भोगिएको एउटा नमीठो पीडा हो। उनी भन्छन्, ‘मेरो नियत समाजलाई विभक्त गर्ने होइन, बरु ऐना देखाउने हो।’

‘लेट्स टक’को नयाँ सेग्मेन्ट ‘राइट नाउ’मा हामीले प्रकाशलाई सोध्यौँ– ‘अहिले यो क्षणमा, यदि बालेन र रवि दुवैले तपाईंलाई अलग–अलग अभियानमा बोलाए भने, तपाईं कसको झन्डा बोक्नुहुन्छ?’
प्रकाशले केहीबेर सोचे र निकै परिपक्व जवाफ दिए, ‘म कसैले भन्दैमा उसको पछाडि झन्डा बोकेर कुदिहाल्ने मान्छे होइन। मेरो आफ्नै एउटा बुझाइ छ। म पहिले हेर्छु– खासमा म्यान्डेट के हो? उद्देश्य के हो? र सबैभन्दा महत्वपूर्ण कुरा, त्यो व्यक्तिको नियत के हो? यी कुराहरू बुझेर मात्रै म कसको साथ लाग्ने भन्ने निर्णय गर्छु।’
उनले अझ प्रस्ट पार्दै थपे, ‘त्यो अभियानमा मेरो आफ्नै बुवा नै हुनुभयो भने पनि म पहिले नियत नै हेर्छु। अहिले म आफ्नो कलाकारितामै केन्द्रित छु, तर देश र समाजका लागि कतै उभिनुपर्ने भयो भने म सधैँ तयार छु। तर, मेरो साथ व्यक्तिको नाम हेरेर होइन, उसको काम र नियत हेरेर मात्र हुनेछ।’
र, अन्तिममा उनले भने, ‘अहिले दुवै अलग हुने परिकल्पना नगरौँ। देशका लागि पनि बालेन–रवि फुट्नु हुँदैन।’
फोटो/भिडिओः सरोज नेपाल

प्रतिक्रिया