नीता ढुंगानाको डेब्यु निर्देशन रहेको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकाएको हो।
गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै सुटिङ सुरु भएको थियो। यो फिल्म नीताकै लगानीमा बनेको हो।
यस फिल्मको मुख्य भूमिकामा नीता स्वयं देखिएकी छन्। नीतासहित फिल्ममा दीपाश्री निरौला,अशोक दर्जी,सिरु विष्ट, राधिका कँडेल,राज पंगेनी शर्मा, राजेन्द्र नेपाली,आशा पौडेललगायतको अभिनय छ।
यस फिल्ममा निर्देशक ढुंगानाकै कथा तथा पटकथा छ भने यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रिएटिभ निर्देशक छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्।
म्युजिक भिडिओमा निकै चर्चामा रहेका उनी पहिलोपटक यस फिल्ममा क्रिएटिभ निर्देशकका रूपमा काम गर्न लागेका हुन्।
यस फिल्ममा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन्। साथै निर्मातामा हरिहर अधिकारी छन्।
फिल्मको सम्पादन साहिल खानको रहनेछ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भीमसेनको छ। फिल्म आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिइसकेको छ।
Shares

प्रतिक्रिया