पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई’ का लागी गायक कुशल पोख्रेलले गीत गाएका छन्। गएको सोमबार र मंगलबार ललितपुरको भैसेपाटीमा भिडिओको छायांकन गरिएको थियो। गीतको भिडिओ भने केही दिनमा सार्वजनिक गरिनेछ।
गीतमा शब्द पनि गायक कुशलकै रहेको छ भने बेस चर्चिल भुसालको रहेको छ। मिक्सिङ र मास्टरिङको काम केपासले गरेका छन् ।
गायक कुशलले डेढ वर्ष अघि सार्वजनिक गरेको ‘पैसा’ गीत निकै चर्चामा आएको थियो। कुशलले ‘बब डाई’ मा अभिनय समेत गरेका छन् । उनको यो अभिनयको हिसाबले डेब्यु फिल्म हुनेछ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्मित‘बब डाई’ कमेडी जनरामा बनेको हो। फिल्ममा सौगात मल्ल र सिम्रन पन्त मुख्य भूमिकामा छन्।
नेवारी लवजमा ‘दाई’ लाई ‘डाई’ भनिने भएकाले चलचित्रको नाम ‘बब डाई’ राखिएको फिल्मका निर्देशक प्रवीण श्रेष्ठले बताए।
यस फिल्ममा सौगात र सिम्रनका साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ। बालकलाकारका रूपमा अग्रिम पण्डित देखिनेछन्।
मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको यस चलचित्रको सम्पादन स्वयम् निर्देशक श्रेष्ठले नै गर्दैछन्। श्याम तामाङ र टोलीले खिचेको यस चलचित्रमा दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन्। फिल्मको रिलिज २०८३ मै हुने तर मिती केहि समयमै घोषणा गरिने बताइएको छ।

प्रतिक्रिया