चलचित्रकर्मीले अभिव्यक्ति र कलाको स्वतन्त्रताको पक्षमा बुधबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। पाटन उच्च, अदालतले फिल्म ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाएपछि चलचित्रकर्मी स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका हुन्।
प्रदर्शनमा कलाकार, निर्देशक र संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। अभिनेत्री स्वस्तिमा खड्का, कलाकारहरू खगेन्द्र लामिछाने, रविन्द्रसिंह बानियाँ, निर्देशकहरू मनोज पण्डित, अशोक शर्मा र गणेशदेव पाण्डेलगायतले माइतीघरमा उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए।
त्यस्तै, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाले पनि प्रदर्शनमा सहभागी हुँदै कलामाथि हुने अंकुशको विरोध गरे।

‘सिनेमा बोलेस, साहित्य सुनाओस्, हाम्रो साँचो कथा बाहिर ल्याओस्’, ‘सिनेमा-साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’, ‘संविधानले दिएको सम्मान-हाम्रो अडान’, ‘सबै जात, धर्म, समुदाय-हामी सचेत सधैं जान’ जस्ता नारा बोकिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
यम थापाको निर्देशन रहेको फिल्म ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि प्रदर्शन हुने तयारीमा थियो। तर, पाटन उच्च, अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिँदै आगामी २२ वैशाखसम्मका लागि प्रदर्शनमा रोक लगाएको छ।
अदालतको यो आदेशले कलात्मक स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै चलचित्रकर्मीले आपत्ति जनाएका छन्। सिनेमा र साहित्यलाई समाजको यथार्थ कथा भन्न दिनुपर्ने र संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने माग उनीहरूको छ।

Shares

प्रतिक्रिया