‘पर्वतहरूको रानी’ उपमाले परिचित इलाममा आयोजित पाँचौँ इलाम साहित्यिक महोत्सव उद्घाटनको छेको पारेर सगरमाथा आरोही जुनिता सुब्बाको कविता संग्रह 'प्रिय आत्मन'को विमोचन गरिएको छ।
शुक्रबार इलाम नगरपालिकाका प्रमुख केदार थापा, पूर्वसांसद महेश बस्नेत, पूर्वनगर प्रमुख हिमाल कर्माचार्य, इतिहासकार युद्धप्रसाद वैद्य, प्राज्ञ अमर न्यौपाने तथा मिडियाकर्मी सुधीर शर्मालगायत वक्तित्वको उपस्थितिमा कविता संग्रह सार्वजनिक गरिएको हो।
डेढ दशकभन्दा लामो समयदेखि अमेरिकामा बसोबासरत पर्वतारोही तथा कवि जुनितानको यो पहिलो कविता संग्रह हो। उक्त संग्रहमा करिब सय कविता समेटिएका छन्।
उक्त कविता संग्रह हाङयुग-जुनिता फाउन्डेसनले प्रकाशन गरेको हो। सन् २००९ मा लिम्बू समुदायबाट पहिलोपटक सगरमाथा आरोहण गरेपछि जुनितालाई ‘सेभेन समिट’ गर्ने लहड चल्यो।
सेभेन समिटअन्तर्गत सातै महादेशका सर्वोच्च शिखर पर्छन्। उनले सन् २०१० मा युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस (रुस) आरोहण गरिन्। त्यसपछि उत्तर अमेरिकास्थित सर्वोच्च शिखर माउन्ड देनाली आरोहण गर्न त्यता गइन्। अनि उतै घरजम गरिन्।
बाँकी ५ वटा हिमाल चढ्ने योजना थाँती राखिन्।
हिमाल चढ्नु र कविता कोर्नु कुन गाह्रो रहेछ?
नेपालखबरको प्रश्नमा जुनिता भन्छिन्, ‘दुवै कठिन र संघर्षपूर्ण रहेछ। हिमाल चढ्न शारीरिक शक्ति चाहिन्छ भने कविता लेख्न मानसिक शक्ति। यी तत्त्व कभी भयो भने दुवै काम गर्न सकिन्न।’
कविता संग्रह निकाल्नु कुनै रहर वा लहड नभएको बताउँदै उनी थप्छिन्, ‘किताब लेखौँ वा नलेखौँ, हामी स्वयं हिँडिरहेको किताब हौँ, जो जोसँग भेट हुन्छ, हामी एकअर्का पढिरहेका हुन्छौँ।’
उनी आफ्ना कविता परिस्थितिले जन्माएको बताउँछिन्।
फाउन्डेसन र ट्रस्ट स्थापना
जुनिताले कवि हाङयुगसँगको सहकार्यमा ‘हाङयुग-जुनिता फाउन्डेसन’ यसै साल स्थापना गरेकी हुन्।
यसमार्फत उनीहरूले हाङयुग-जुनिता राष्ट्रिय पुरस्कार समेत स्थापना गरी यस वर्ष कवि तथा गजलकार "सुन्दर कुरूप"लाई प्रदान गर्ने घोषणा गरेका छन्। जसको पुरस्कार राशि ५० हजार रुपैयाँ राखिएको छ।
जुनिताका अनुसार आगामी वर्षदेखि पुरस्कार राशि १ लाख रुपैयाँ रहने तथा साहित्यसहित अन्य जुनसुकै विधाका व्यक्तिलाई प्रदान गरिनेछ।
साथै इलाममै हाङयुग-जुनिता ध्यानालय तथा पुस्तकालयको शिलान्यास पनि गरिएको छ।
अनि जुनिताले असाहय र समस्या झेलिरहेका ७ बालबालिकालाई निजी स्कुलमा पढाइरहेकी छन्।
यो वर्षदेखि आधिकारिक रूपमै ट्रस्ट स्थापना गरी थप बालबालिकालाई शिक्षा दिने योजना छ। यसअन्तर्गत उनले १ करोड २५ लाख अक्षय कोषको ‘जुनिता ट्रस्ट्र’ घोषणा गरेकी छन्।
Shares

प्रतिक्रिया