कला


लोकरक लिएर न्युजिल्यान्डतर्फ लाग्दै नेपथ्य, कहिले हुँदैछ कन्सर्ट?

लोकरक लिएर न्युजिल्यान्डतर्फ लाग्दै नेपथ्य, कहिले हुँदैछ कन्सर्ट?

नेपालखबर
बैशाख २०, २०८३ आइतबार १८:४८, काठमाडौँ

लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने भएको छ। नेपथ्य दक्षिणी गोलार्ध (एन्टार्टिक महासागर) छेउमा जान लागेको हो। टोली यसै सोमबार त्यसतर्फ प्रस्थान गर्देछ।

सार्वजनिक महत्त्वको कार्यक्रम लिएर जाने जो कसैले पनि अमेरिका पुगेको बेला क्यानाडा र अस्ट्रेलिया पुगेको बेला न्युजिल्यान्डको भ्रमण गर्ने परम्परा छ। त्यहाँ बसोबास गर्ने अल्पसङ्ख्यक नेपालीको उपस्थिति नेपथ्यले भने जे जस्तो सङ्ख्यामा भए पनि यी दुवै मुलुकका दर्शकको उच्च सम्मान गर्दै ती मुलुकमा मात्र केन्द्रित भएर साङ्गीतिक यात्राको सुरु गरेको हो।

यसपटक प्रस्तुतिका ब्यान्डले लागि न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको व्यस्त सहर अकल्यान्ड छानेको छ। त्यहाँस्थित ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १०, आइतबार साँझ नेपाली लोकरक गुञ्जिनेछ।

नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो। त्यति बेला नेपथ्य ‘स्काई सिटी थिएटर’ मा प्रस्तुत भएको थियो।

स्थानीय आयोजक टोलीका रोजन भट्टराईका अनुसार अकल्यान्डको शोका निम्ति उल्लेख्य मात्रामा दर्शक सहभागिता जुट्न सुरु भइसकेको छ। ‘टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘कार्यक्रमको मिति नजिकिँदै गर्दा शोप्रति चासो राख्नेहरू जताततै देखिन थालिसकेका छन् ।’

आदिवासी माउरी समुदायको परम्परागत ‘हाका शैली’ मै भव्य रूपले नेपथ्यलाई न्युजिल्यान्डमा स्वागत गर्न आफूहरू तत्पर रहेको भट्टराईले बताए ।

पछिल्लो समय विशेषतः अध्ययनका निम्ति यो मुलुक नेपालीको आकर्षक गन्तव्य बन्दै आएको छ । स्थायी बसोबास गर्नेको सङ्ख्या पनि यहाँ दिनप्रतिदिन बढ्दो छ । तीन वर्ष पहिलेको जनगणनाले यहाँ झन्डै सात हजार नेपालीको स्थायी बसोबास देखाएको थियो ।

‘न्युजिल्यान्ड भन्नेबित्तिकै हाम्रो मुलुकलाई अत्यन्त माया गर्ने प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको श्रद्धापूर्वक सम्झना हुन्छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘मेरो आफ्नै बाल्यकालको गण्डकी बोर्डिङ स्कुलका हेड सर ब्रायन उडलाई पनि सम्झन पुग्छु।’

अमृत उक्त स्कुलमा अध्ययनरत रहेकै बेला अन्नपूर्ण भेगको पदयात्रामा गएका बेला उडको हिमालकै काखमा निधन भएको थियो। बाचुन्जेल खुम्बु क्षेत्रको विकासमा समर्पित हिलारी, नेपालको शिक्षामा योगदान गर्ने आफ्ना गुरु ब्रायन उड र झन्डै सात दशकअघि न्युजिल्यान्डको अध्ययन भ्रमण गरेर जनस्तरमा दुई मुलुकलाई जोड्ने संस्कृतिविद् सत्यमोहन जोशीजस्ता व्यक्तिहरूको प्रेरणा नै न्युजिल्यान्डप्रति आफ्नो श्रद्धाको मूल आधार रहेको अमृत उल्लेख गर्छन् ।

‘थोरै नेपालीको बसोबासस्थल भनेर वास्ता नगरिएकै बेला नौ वर्षअघि हामीले तत्कालिन आयोजकसंग मिलेर नेपथ्यलाई न्युजिल्यान्डमा प्रस्तुत गरेका थियौँ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैलाई निरन्तरता दिँदै यो दोस्रो यात्रा अस्ट्रेलियासँग पनि नजोडेर केवल न्युजिल्यान्डमै केन्द्रित बनाएका छौँ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad