विश्व फेसनको कुम्भ मेला ‘मेट गाला २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। यस वर्ष ‘फेसन इज आर्ट’ थिममा न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा भएको शोमा विश्वभरका सेलिब्रिटीहरु प्रस्तुत भए।
यस वर्षको मेट गालामा सबैभन्दा बढी चर्चा बियोन्सेको भयो। १० वर्षपछि मेट गाला फर्किएकी उनले फ्रान्सेली डिजाइनर ओलिभर रुस्टिङको अनौठो कंकाल आकृतियुक्त पहिरन र प्वाँखयुक्त ओढनीमा सबैलाई चकित पारिन्। उनी श्रीमान जे-जेड र छोरी ब्लु आइभीका साथ रेड कार्पेटमा हिडेकी थिइन्।
त्यस्तै, गायिका रिहानाले गहना जडित पहिरनले सबैको ध्यान तानिन्। अभिनेत्री निकोल किडम्यान, भेनस विलियम्स, सेरेना विलियम्स, मोडल हेइडी क्लम र गायक ब्याड लगायतका सेलिब्रेटीहरुले आफ्नो फेशनको जादु छरे।
हलिउडमात्रै नभई बलिउड सेलिब्रिटीहरु पनि चर्चामा छाए। बलिउड फिल्म निर्माता करण जोहरले यस वर्ष मेट गालामा डेब्यु गरे। मनिष मल्होत्राले डिजाइन गरेको उनको ‘फ्रेम्ड इन इटर्निटी’ पहिरन प्रख्यात चित्रकार राजा रवि वर्माका चित्रहरूबाट प्रेरित थियो। यसलाई ८० जना कलाकारले ८५ दिन लगाएर तयार पारेका थिए ।
त्यस्तै, डिजाइनर गौरव गुप्ताको सुनौलो साडीमा सजिएकी ईशा अम्बानीको चर्चा विश्वभर भयो। उनको पहिरनमा जडित हीराले धेरैको ध्यान खिँच्न सफल भएको थियो। त्यस्तै, प्रियंका चोपडा, आलिया भट्ट लगायतका सेलिब्रिटीहरु पनि रेड कार्पेटमा देखिए।
Shares

प्रतिक्रिया