नेपालको इतिहसको पाना पल्टाउँदा हामीले अक्सर राजा, महाराज र ठूला सेनानायकहरुको वीरताको गाथा मात्रै पढ्दै आएका छौँ। तर, ती विशाल युद्धहरुमा रगत बगाउने ती अनगिन्ती अज्ञात मानिसहरु को थिए ? उनीहरुका व्यक्तिगत सपना, प्रेम र पीडा कस्ता थिए ?
पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीले आफ्नो दोस्रो कृति ‘अज्ञात’मार्फत् इतिहासका तिनै गुमनाम पात्रहरुलाई जीवन्त बनाएका छ। सोमबार नेपाल पर्यटन बोर्डको हलमा मदन पुरस्कार विजेता लेखक मोहन मैनालीसँगै ज्ञवालीले आफ्नो नयाँ उपन्यास लोकर्पाण गरे।
गुमनामहरूको गाथा
लोकार्पण समारोहमा लेखक ज्ञवालीले गोर्खा राज्य विस्तारको कथा केवल भूगोलको कथा मात्र नभएर मानिसहरूको सङ्घर्षको कथा पनि भएको बताए।
'इतिहास लेखनमा सधैँ सेनानायक र राजाहरूको चर्चा हुन्छ, आम मान्छेहरू त आकलझुक्कल मात्रै झुल्किन्छन्,' ज्ञवालीले भने, 'हाम्रा पुर्खाले लडेको त्यो लडाइँ जति सेनानायकहरूको थियो, त्योभन्दा बढी ती भुइँमान्छेहरूको थियो। तिनै गुमनाम पात्रहरूको कथा लेख्ने प्रयास हो— अज्ञात।'
लेखकका अनुसार यो उपन्यास लेख्नका लागि उनले केवल कल्पनाको सहारा मात्र लिएनन्, ऐतिहासिक तथ्यहरूको गहन अध्ययन र स्थलगत भ्रमणसमेत गरे। 'यो तथ्यका आधारमा त्यो समयको सत्यसम्म पुग्ने प्रयास हो,' उनले भने।
उपन्यासको केन्द्रमा छ— 'मन्या', जो एउटा कमारो जीवन बाँच्न बाध्य पारिएको पात्र हो। आफ्ना बाबुको खोजीमा निस्किएको मन्याको यात्रा विस्थापित गाउँ, युद्धका विभिषिका र मानिसका आँसुको साक्षी बन्दै नालापानीको किल्लासम्म पुग्छ।
इतिहासले भन्छ— नालापानीको युद्धमा अङ्ग्रेजी जनरल जिलेस्पी मारिएका थिए। तर, जिलेस्पीलाई मार्ने त्यो योद्धाको मनोदशा कस्तो थियो होलारु उसले युद्धलाई कुन नजरले हेर्थ्यो होलारु ज्ञवालीको उपन्यासले तिनै प्रश्नहरूको उत्तर खोज्ने जमर्को गरेको छ।
पुस्तकमाथि टिप्पणी गर्दै लेखक मोहन मैनालीले 'अज्ञात' उपन्यास भए पनि यसमा प्रयोग गरिएका 'फुटनोट'ले यसलाई इतिहासका विद्यार्थीका लागि समेत पठनीय बनाएको बताए।
'उपन्यासको मुख्य पात्र मन्याको यात्रा पढ्दा पाठकलाई पनि ऊसँगै हिँडिरहेको हुटहुटी जाग्छ,' मैनालीले भने, 'यति उत्कृष्ट कृति सार्वजनिक हुनुअघि नै पढ्न पाउनु मेरो सौभाग्य हो। ऐतिहासिक उपन्यासलाई यति सुन्दर बनाउन सक्नु लेखक ज्ञवालीको गजब खुबी हो।'
फाइनप्रिन्टले प्रकाशन गरेको यो उपन्यासले युद्धको व्यर्थता र युद्धका बीचमा अङ्कुराउने प्रेमलाई सूक्ष्म ढंगले चित्रण गरेको छ। 'अज्ञात' केवल एउटा युद्धको कथा मात्र नभई, इतिहासका ती साधन बनाइएका मानिसहरूको दृष्टिबाट लेखिएको एउटा सशक्त वैचारिकी पनि हो।
Shares

प्रतिक्रिया