अभिनेत्री शिल्पा मास्के वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनले आफ्ना प्रेमी तथा ट्याटु आर्टिस्ट फ्लावर केसीसँग बिहीबार मुस्ताङको कोबाङ पुगेर विवाह गरेकी हुन्।
मुस्ताङको प्रसिद्ध पर्यटकीय क्षेत्र कोबाङस्थित 'लज थासाङ भिलेज'मा उनीहरूले लगनगाँठो कसेका हुन्। प्रकृतिसँग नजिक रहेर विवाह गर्ने आफ्नो पुरानो सपना रहेको उल्लेख गर्दै शिल्पाले सामाजिक सञ्जालमार्फत विवाहका केही तस्बिरहरू सार्वजनिक गरेकी छन्।
विवाह समारोहमा दुवै पक्षका परिवार र निकै सीमित आफन्तहरूको मात्र उपस्थिति रहेको थियो। सार्वजनिक तस्बिरमा यो जोडी मुस्ताङको प्राकृतिक सुन्दरताका बीच निकै खुसी देखिएका छन्।
सन् २०१९ मा चलचित्र ‘द ब्रेकअप’बाट नेपाली रजतपटमा डेब्यु गरेकी शिल्पाले ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’, ‘लाइफ इन एलए’, ‘परस्त्री’ र ‘फूलबारी’ जस्ता दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन्। अब उनी फिल्म ‘जलाकी’ मा देखिँदैछिन्।

Shares

प्रतिक्रिया