फिल्म ‘रोल नं १’ को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ। लोकलयमा तयार पारिएको गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ।
सुष्मा सिग्देलको शब्द रचना रहेको गीतमा प्रशान्त शिवाकोटीले संगीत भरेका छन्। प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन्।
गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ। युवकले सँगै जीवन बिताउन गर्ने प्रस्ताव र युवतीले हतार नगर्न गरेको आग्रह गीतमा छ।
युवतीलाई फकाउन युवकले गर्ने प्रयास तथा युवतीले केटाको पारिवारिक अवस्थाबारे गरेको खोजीनीति गीतमा सुन्न सकिन्छ। लाखौँको प्रेम हतारमा नलगाउन युवतीले गरेको आग्रहसँगै गीत सकिन्छ। सवाल-जवाफ शैलीमा तयार पारिएको गीत श्रवणीय बनेको छ।
भिडिओमा विनोद न्यौपाने र जुना विश्वकर्मालगायतको अभिनय देख्न सकिन्छ। गीतको भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।
यस फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ। विनोद पौडेलको निर्माण रहेको फिल्म जेठ १५ गतेबाट रिलिज हुँदै छ।
यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन्। हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।
Shares

प्रतिक्रिया