कला


बहिष्कार अभियानका बिच कस्तो छ ‘लालीबजार’ र ‘मालती मंगले’लाई दर्शकको साथ?

बहिष्कार अभियानका बिच कस्तो छ ‘लालीबजार’ र ‘मालती मंगले’लाई दर्शकको साथ?

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १४:५०, काठमाडौँ

वैशाख २५ गतेदेखि प्रदर्शनरत ‘लालीबजार’ र ‘मालती मंगले’ले दर्शकको राम्रो साथ पाइरहेका छन्। प्रदर्शनअगावै बहिष्कारको चपेटामा परेका यी दुवै फिल्मले पिकअप लिन थालेका छन्।

‘लालीबजार’ प्रदर्शन भएदेखि नै फिल्मका अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक यम थापासहितको टिम काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन्। जहाँ सपरिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिँदै गर्दा रुँदै बाहिरिएका छन्। 

यस फिल्मले वादी समुदायको  पृष्ठभूमिमा आमाछोरीको सम्बन्धको कथा भन्छ। जुन कथालाई दर्शकले मन पराउँदै उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन्।  

शुक्रबार र शनिबारझैँ आज आइतबार पनि काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर कलाकारहरूले दर्शकसँग भेट गरिरहेका छन्।

अभिनेत्री स्वस्तिमा खड्का दर्शकबाट प्राप्त प्रतिक्रियाले निकै उत्साहित छिन्।

उनले भनिन्, ‘हामीले फिल्ममार्फत देखाएको विषयलाई दर्शकले स्पष्ट रूपमा बुझ्नुभएको छ। महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन्। फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ। सपरिवारलाई नै दर्शकका रूपमा हलमा पाउँदा उत्साहित छु।’

डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिएको बताइन्। जेनजी अभियन्ताकी रूपमा चिनिएकी कन्टेन्ट क्रिएटर प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छन्।

‘लालीबजार’का निर्देशक तथा लेखक यम थापाले फिल्मबारे गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए। उनले सपरिवारै आनन्दले फिल्म हेर्न सकिने बताए।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र वीरवल चौधरीलगायत कलाकारको अभिनय छ।

यस्तै रामकृष्ण ढकालको लगानीमा बनेको ‘मालती मंगले’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ। सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिबार दिउँसोदेखि भने दर्शकको राम्रो साथ पाउन थालेको निर्माण टिमको भनाइ छ।

चलचित्र हेरेर निस्किएका दर्शकहरूले दिएको सकरात्मक ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण फिल्मले दर्शक तानिरहेको छ। शनिबार दिनभर चलचित्रको टिम राजधानीका विभिन्न हलमा पुगेको थियो।

निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकको हुटिङ, सिठी र गडगडाहट तालीले माहोल निकै रोमाञ्चक बनेको थियो।

पर्दामा देखिएका कलाकार प्रत्यक्ष रूपमा आफ्नै अगाडि पाउँदा दर्शकको क्रेज र उत्साह हलभित्र छताछुल्ल भएको थियो। सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई नेपालीपन बोकेको अब्बल मास्टरपिसको भनेका छन्। 

अभिनेत्री वर्षा राउतको अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ।

दर्शकबाट प्राप्त यो अपार माया र बलियो ‘वर्ड अफ माउथ’को बाढीले आगामी दिनमा प्रकु पाण्डेय निर्देशित ‘मालती मंगले’को बक्सअफिस यात्रा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ।

‘गुरुआमा’मा भने दर्शकको उपस्थिति न्यून हुँदा शोमा कटौती गरिएको छ।

यद्यपि शुक्रबारदेखि प्रदर्शनरत उल्लिखित तीनै फिल्मको बक्सअफिस रिपोर्ट भने सार्वजनिक भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad