देशभर प्रदर्शन भइरहेको फिल्म ‘लालीबजार’ का कलाकारसहितको टोली मोफसल पुगेको छ। दर्शकसँग भेटघाट गर्न फिल्मको टोली काठमाडौँबाहिर निस्केको हो।
अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई लगायतको टिम मंगलबार सुर्खेत पुगेको छ। सुरुमा सुर्खेतस्थित लक्ष्मी चलचित्र मन्दिर पुगेर दर्शक भेट्नेछ।
त्यसपछि नेपालगञ्च पुग्ने योजना छ। फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट तारिफ पाइरहेको ‘लालीबजार’ का दर्शकका रुपमा पछिल्लो समय परिवार नै दर्शक बनेर आइरहेका छन्।
प्रदर्शनकै दिनदेखि काठमाडौँ उपत्यकामा विभिन्न सिनेमा घरमा पुगेर दर्शक भेटघाट गरिरहेको टिमले केही दिन उपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै साक्षात्कार गर्ने कार्यकारी निर्माता प्रदीप भट्टराईले बताए। उनले भने, ‘हामीले दर्शकबाट प्राप्त गरिरहेको मायालाई शब्दमा व्यक्त गर्न सकिरहेका छैनौँ। प्रदर्शन कै दिनदेखि काठमाडौँ उपत्यकाका दर्शकसँग भेटघाट गरिरहेका छौँ, अब हामी मोफसलका दर्शकलाई भेटेर प्रतिक्रिया लिनेछौँ।’
उनले सुर्खेतबाट सुरु हुने यात्रा नेपालगञ्ज हुँदै मोफसलका अन्य सहरमा पनि पुग्ने बताए। ‘हामी दर्शकलाई सरप्राइज दिन विभिन्न सहरमा पुग्नेछौँ, उहाँहरूले फिल्म हेरिरहँदा अन्त्यमा हामीसँग साक्षात्कार गर्नुहुनेछ’, उनले भने।
फिल्मले आफ्नो आमाको महत्त्व र छोरीप्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन्। एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ।
‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मबारे गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने प्रतिक्रिया दिए। उनले सपरिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका हुन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।
Shares

प्रतिक्रिया