जर्मन व्यवसायी तथा विकास अभियन्ता उवे लुकले निर्माण गरेको लुघ चलचित्र ‘द मेकिङ अफ द स्ट्याचु मिलारेपा’ काठमाडौँस्थित मनास्लु होटल आयोजित कार्यक्रममा स्क्रिनिङ गरिएको छ।
नेपाली मूर्तिकलाको परम्परागत प्रक्रियालाई विश्व दर्शकसामु प्रस्तुत गर्ने उद्देश्यले चलचित्र बनाइएको हो। यसमा नेपाली बौद्ध परम्पराका महान् सन्त मिलारेपाको मूर्ति निर्माण प्रक्रिया देखाइएको छ। यस क्रममा झण्डै एक वर्ष लामो मूर्ति निर्माण प्रक्रियालाई छायांकन गरिएको थियो।
वृत्तचित्रलाई अमरलाल श्रेष्ठले संयोजन गरेका हुन्। संयोजक श्रेष्ठले उवे लुकको परिवार नै विगत ५० वर्षभन्दा लामो समयदेखि नेपाल र नेपालीलाई विश्वमा चिनाउने काममा सक्रिय रहेको बताए। उनले यस वृत्तचित्र निर्माणले नेपाली मूर्तिकलालाई विश्वमा प्रवर्द्धन गर्ने काममा थप सहयोग गर्ने बताए।
‘मित्र लुकले वास्तवमा नेपाली कला मेसिनले होइन। यो मुलतः नेपाली कालीगढको पुस्तौँदेखिको पसिना साधना, धैर्य र स्वाभिमानले निर्माण हुन्छ भनेर चलचित्रमा देखाउन खोज्नुभएको छ,’ श्रेष्ठले भने, ‘भनिन्छ कलाकृति बोल्दैनन्। तर म भन्छु उवे लुकको वृत्तचित्रले नेपाली कलाकारको सिर्जना, लगनशीलता र गाथा विश्वलाई सुनाउनेछ।’

चलचित्रमा मूर्तिकारका रूपमा सविन्द्र शाक्य, सीताराम विक र रिनु शाक्यले काम गरेका छन्। त्यस्तै, बाल कलाकारमा रोनित प्रधान (जेम्स स्कूल), आर्यभलाल श्रेष्ठ र आर्या श्रेष्ठ (निसर्ग बाटिका स्कूल) छन्।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त सीईओ हिक्मतसिंह ऐर, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यलगायतको उपस्थिति रहेको थियो।
हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाली हस्तकला सामग्रीको प्रवर्द्धनमा लामो समयदेखि लुकको परिवारले महत्वपूर्ण भूमिका खेलेको बताए।

जर्मन स्वयंसेवी संस्था जर्मन भोलुन्टियर्सको पूर्व निर्देशक र जीटिजेटका पूर्व सल्लाहकार समेत रहेका उवे सन् १९७३ मा पहिलो पटक नेपाल आएका थिए। त्यसको केही समयपछि पत्नी टुडी बिल्लोसँग मिलेर उनले नेपाली हस्तकलालाई जर्मनीमा निर्यात गर्न थाले।
लुकले यसअघि ‘सिंगिङ बल’ नामक वृत्तचित्र पनि निर्माण गरिसकेको जानकारी कार्यक्रम सञ्चालक कविता जोशी श्रेष्ठले दिइन्।
‘मैले कृषि क्षेत्र, समाजसेवा र राजनीतिमा पनि लाग्छु भन्ने सोचेको थिएँ। तर फिल्म मेकिङमा लाग्छु भनेर कहिल्यै सोचिनँ,’ उनले भने, ‘तर एउटा समय आएपछि मलाई लाग्यो कि नेपालको परम्परागत हस्तकला बनाउने सीप संरक्षणका लागि भिडिओ सामग्रीले महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले मलाई ८० वर्ष नाघेपछि यो वृत्तचित्र प्रेरित गरेको हो।’
Shares

प्रतिक्रिया