फिल्म ‘रोल नं १’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा समेटिएको छ।
परिवाको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको कथा प्रस्तुत गर्दै ट्रेलरले बालमनोविज्ञानलाई चित्रण गरेको छ। गरिब भएकै कारण कसरी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित हुन्छन् र पहिलो हुनेले मात्रै पाउने इज्जतलाई ट्रेलरमा देखाइएको छ। पुरानै सोचमा जकेडिएको समाज र त्यसले गरिबलाई दिने दुःख तथा समाज पारिवारिक र सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ।
घोकन्ते विद्याले समाजमा पारेको प्रभाव र त्यसको पछि लाग्ने अभिभावकका कारण सानासाना विद्यार्थीको बालमनोविज्ञानमा पारिरहेको प्रभावलाई मिहिन ढंगले बाबु र छोरामार्फत सिनेमाले देखाएको छ।
विनोद पौडेलको निर्माण रहेको यो फिल्म जेठ १५ गते प्रदर्शनमा आउँदै छ। यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा फिल्ममा छ।
जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्।
Shares

प्रतिक्रिया