वरिष्ठ कलाकार एवं निर्देशक नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को टिजर सार्वजनिक भएको छ। मनोवैज्ञानिक कथावस्तुमा आधारित टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ।
टिजरमा नीरसहित मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ। टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
यो फिल्म साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित छ। करिब एक दशकपछि निर्देशनमा फर्किएका नीर शाहले यस चलचित्रमार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। यसअघि उनले ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।
फिल्ममा नीर र बासनासँगै रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रलाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको हो। उमेश मल्ल, चैतन्य प्रधान, रमेश बाबु श्रेष्ठ र राम भट्टराई ‘कमला मिस’का कार्यकारी निर्माता हुन्। चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्।
विजय मल्लको कथा रहेको फिल्मको पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन्। यो फिल्म साउन २२ गतेदेखि प्रदर्शनमा आउँदै छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
Shares

प्रतिक्रिया