कला


तेस्रो सातामा ‘लालीबजार’, कति पुग्यो कमाइ?

तेस्रो सातामा ‘लालीबजार’,  कति पुग्यो कमाइ?

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १२:४२, काठमाडौँ

गत वैशाख २५ देखि प्रदर्शन भएको फिल्म ‘लालीबजार’आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ। यस फिल्मले दुई सातामा ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनि षट्कोण आर्ट्सले जनाएको छ।

कम्पनिका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते राति ११:५९ सम्ममा उक्त ग्रस कलेक्सन गरेको हो।

‘फिल्मले नेपालभर पाइरहेको माया हाम्रो लागि अमुल्य छ। फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्शाएको थियो, त्यसलाई आम दर्शकले राम्रोसँग बुझ्नुभयो। अहिले विदेशमा रहेका छोराछोरीले फिल्म हेर्ने आफ्नो अभिभावक पठाएका छन्, स्वदेशमै रहेका छोरीले आमालाई लिएर हल आउनुभएको छ । हामीलाई विश्वास गरेर आउनुभएका दर्शक सन्तुष्ट भएर फर्किनुभएको छ, त्यो हाम्रो ठूलो सफलता हो', निर्माता  समेत रहेका खत्रीले भने।

उनले प्रदर्शनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिए। नेपालभरका प्रमुख सहरमा दर्शक भेटेर फर्किएकी अभिनेत्री स्वस्तिमा खड्काले देशभर नै दर्शकको माया उस्तै रहेको बताइन।

‘यो फिल्म पूर्व होस् वा पश्चिम सबै दर्शकलाई मन परेको छ, र साथ् पनि उस्तै पाएको छ । नेपालभर दर्शकले दिनुभएको मायाले कृतज्ञ छौँ । देशभर फिल्मलाई जुन सोचका साथ् ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो । अब यो विकेन्डमा भने हामी काठमाडौँ उपत्यकाका दर्शकलाई भेटघाट गर्नेछौ, प्रतिक्रिया लिनेछौँ', अभिनेत्री खड्काले भनिन्।

नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट' भएको प्रतिक्रिया दिएका छन्। दर्शकले दिईरहनुभएको ‘वर्ड अफ माउथ' ले आगामी विकेन्ड फिल्मका लागि सुखद हुने अपेक्षा बढेको छ।

विद्यालयले देखाउन थाले फिल्म

‘लालीबजार’लाई पछिल्लो समय विद्यालयले आफ्नो विद्यार्थीलाई देखाउन थालेका छन्। काठमाडौँसँगै मोफसलका केही हलमा विद्यार्थीलाई विद्यालयले हल ल्याएर फिल्म देखाउन थालेका हुन्। फिल्मले दिएको संदेशले शिक्षाको महत्वलाई दर्शाउने बताउँदै विद्यालयले फिल्म देखाउन थालेका हुन्।

आमा र छोरीको कथामा आधारित फिल्मले शिक्षित भएपछि शासकले गरेको शोषण र कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरित गर्छ । सोही कारण शिक्षा महत्व झल्किने भएकाले पनि विद्यार्थीलाई ल्याएर विद्यालयले फिल्म देखाउन थालेका हुन्। यो क्रम काठमाडौँसँगै मोफसलमा पनि बढेको छ।

बिहिबार मात्र नेपालगंजको सिने रोयलमा ६ सयको हाराहारीमा विद्यार्थीले फिल्म हेरेका थिए। दिनभरकै शोमा विद्यार्थीको आगमन भएपछि फिल्मका नव कलाकार विशाल देवकोटा, प्रशंसा सुवेदी र समाईरा थापा भेटघाट गर्न पुगेका थिए । आज शुक्रबार पनि केही विद्यालयका विद्यार्थीले फिल्म हेर्ने स्थानीय प्रदर्शकले जनाएका छन्।

फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु  गरेका हुन्।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार  फिल्मको पटकथा र संवाद निर्देशक थापासहित निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad