पछिल्लो समय सिनेजगतका सेलिब्रिटीहरू राजनीतिमा आउने क्रम बढ्दो छ। हालै चर्चित भारतीय अभिनेता थलापति विजय केरालको चुनाव जित्दै मुख्यमन्त्री बनेका छन्।
यसैबीच अर्का अभिनेता राम चरणले भने आफू कहिल्यै राजनीतिमा नआउने बताए। उनी आगामी ४ जुनबाट रिलिज हुने फिल्म ‘पेड्डी’ मार्फत दर्शकमाझ आउँदै छन्।
फिल्म रिलिज हुनुभन्दा अगाडि उनले भारतीय मिडिया दैनिक भास्करसँग आध्यात्मिकता, अनुशासन र राजनीतिबारे कुरा गरेका छन्।
अन्तर्वार्ताकारले उनलाई सोधे, ‘तपाईंको परिवारको पनि राजनीतिमा ठूलो नाम छ, विजयलाई हेर्नुहोस्, तपाईंको काका (पवन कल्याण) पनि आन्ध्र प्रदेश सरकारमा हुनुहुन्थ्यो। प्रशंसकहरूले तपाईंलाई पनि राजनीतिमा आउनुहुनेछ भन्ने आशा छ?’
जवाफमा उनले भने, ‘होइन, होइन। बिल्कुलै होइन। म मनोरञ्जन उद्योगमा उत्कृष्ट बन्न चाहन्छु। स्पष्ट रूपमा, मेरो बुवा र काका राजनीतिमा प्रवेश गर्नुभयो, तर म त्यसो गर्न चाहन्न। दुई डुङ्गा चढ्न मलाई धेरै गाह्रो छ।’
त्यस्तै, उनले ‘मगधीरा’ र ‘रंगस्थलम’ जस्ता फिल्मलाई टर्निङ प्वाइन्टको रुपमा व्याख्या गरेका छन्। यी दुवै फिल्मले आफूलाई अभिनेता बनाएको उनको भनाइ छ।
राम चरणका बुवा चिरञ्जीवी पनि चर्चित अभिनेता हुन्। आफ्नो बुबाको विरासतलाई अगाडि बढाउन दबाब महसुस हुन्छ भनेर प्रश्न पनि सोधिएको थियो। उत्तरमा उनले आफू फिल्म परिवारबाट आएको र यो उनको लागि सामान्य भएको बताए।
Shares

प्रतिक्रिया