कला


मलाई ढुंगा हान्नेलाई धन्यवाद, त्यही बटुलेर मैले सफलताको पिलर ठड्याएँ : ज्योति मगर (भिडिओ)

‘मानवीय संवेदनाबिनाको विकास चाहिँदैन, बालेन तानाशाह बन्न खोज्दैछन्’

अनिल यादव
जेठ ८ , काठमाडौँ

स्टेजमा बोल्ड र चञ्चल देखिने उनी कुनै समय यतिसम्म विक्षिप्त थिइन् कि उनले आफ्नै साथीको टाउको फुटाइन्। हातमा स्टिलको टिफिन बट्टा थियो। दिमागमा रिस र तनावै तनाव। केही सोच्दै नसोची त्यो बट्टा आफ्नै साथीको टाउकोमा बजारिन्। रगत बग्यो, साथीको टाउकोमा पाँच टाँका लाग्यो। 

यो कुनै म्युजिक भिडिओको दृश्य होइन, गायिका ज्योति मगरको जीवनको एउटा अँध्यारो विगत हो। जतिबेला उनीमाथि अश्लीलताको ट्याग भिराउँदै चौतर्फी आलोचना भइरहेको थियो, त्यतिबेला डिप्रेसनका कारण उनी आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। त्यही बेला घटेको यो एउटा घटनालाई आज २० वर्षको सांगीतिक यात्रा पार गरेपछि ज्योतिले निकै इमानदारीका साथ सार्वजनिक गरेकी छिन्, नेपालखबर सो ‘लेट्स टक’मार्फत। 

आज ज्योति जति ‘कुल’ र स्थिर देखिन्छिन्, केही वर्षअघि मानसिक रुपमा उनी त्यति नै कमजोर थिइन्। त्यो घटना सम्झिँदा आज पनि उनी भावुक बन्छिन्। 

‘म एक समय मानसिक रूपमा यति विचलित थिएँ कि आवेशमा आएर एउटा साथीलाई स्टिलको टिफिनको बट्टाले हानेर पाँच टाँका लगाइदिएकी थिएँ। ममा कुनै कन्ट्रोल नै थिएन। इमोसनमा कुनै कन्ट्रोल थिएन,’ उनले सुनाइन्। 

त्यो चरम संकटको बेला उनलाई सम्हाल्ने एउटा बलियो आधार थिए, उनका साथी विशाल गुरुङ। 

‘विशाल गुरुङ एकदमै आँट दिने, भरोसा दिने साथी हुन्,’ उनले खुलेरै भनिन्, ‘म सुत्न सक्दिनथेँ, म पागल हुन्थेँ। उनी भन्थे– तँ नसुत् न त, म पनि बस्दिन्छु रातभरि। म बारम्बार हस्पिटल भर्ना हुन्थेँ। खाना मन लाग्दैनथ्यो, ग्यास्ट्रिकले उस्तै च्याप्थ्यो। म निकै दुब्लाएकी थिएँ। त्यस्तो बेलामा विशालले मलाई जुन साथ दियो, त्यो म मेरो जीवनभर बिर्सिने छैन। मेरो भावी सन्तान र श्रीमानलाई पनि म ढुक्कले भन्न सक्छु कि– हो, यो मान्छेले मेरो कठिन समयमा साथ दिएको थियो।’

ज्योतिसँग कुराकानी गरेपछि लाग्छ– झट्ट हेर्दा ग्ल्यामर र विद्रोही छविकी मात्र लाग्ने उनमा एउटा गहिरो चिन्तन र जीवनदर्शन लुकेको छ।

जेठको १५ गते काठमाडौँ छिरेकी ज्योतिका लागि यो २० वर्ष एउटा ठूलो पाठशाला बन्यो।  

‘करिअरको ठिक १० वर्ष पुग्दाको दिन भक्तपुरको एउटा फनपार्कमा सुटिङ थियो,’ उनले सम्झिइन्, ‘मलाई त्यो बेला साँच्चै आँसु झरेको थियो– ओ माइ गड, १० वर्ष पार भएछ! त्यो बेला म एक्लै रोएकी थिएँ। तर त्यसपछिको १० वर्ष बितेको आज बल्ल थाहा भयो। अहिले २० वर्ष पुग्दा भने सामान्य लाग्छ।’

यो दुई दशकमा उनले फूलभन्दा बढी ढुंगाको सामना गरिन्। उनको प्रस्तुति, पहिरन र शैलीलाई लिएर समाजले उनलाई खुब प्रहार गर्‍यो, चरित्रहत्याको प्रयास भयो। तर, ज्योतिले तिनै प्रहारलाई आफ्नो सफलताको खुड्किलो बनाइन्। 

भन्छिन्, ‘जसले मलाई ढुंगा हाने, तिनै ढुंगाहरू जम्मा गरेर मैले आफ्नो लागि एउटा बलियो सिँढी र पिलर खडा गरेकी छु। सायद त्यो बेला मलाई माया ममताले फुर्क्याएको भए म सानोतिनो कुराले पनि ढल्न सक्थेँ होला। ती ढुङ्गाहरूले मलाई घाइते होइन, बलियो बनाए। ती आगोहरूले सुनलाई गालेजस्तै गाले मलाई।’

स्टेजमा उफ्रिने र हँसाउने ज्योति र ऐनाअगाडि उभिने ज्योतिमा कति दूरी होला? हाम्रो एक जिज्ञासामा ज्योति आफूलाई एउटा निश्चल पानीको रूपमा व्याख्या गर्छिन्। 

‘म ऐना अगाडि उभिँदा आफूलाई एकदमै स्वच्छ र निश्चल पानी जस्तै पाउँछु। कसैले नुन मिसाएर पिउँछन्, कसैले चिनी मिसाएर सर्बत बनाउँछन्, कसैले हिलो मिसाउँछन्, धमिलो उनकै मुखमा पर्छ। मलाई अरूले जसरी व्यवहार गर्छन्, म त्यस्तै बनिदिन्छु,’ ज्योतिले निकै दार्शनिक जवाफ दिइन्। 

प्रेम र सम्बन्धका बारेमा ज्योतिका धारणाहरू निकै यथार्थवादी छन्। पैसा र प्रेमको तुलना गर्दा उनी दुवैलाई जीवनको रथका दुई पांग्रा देख्छिन्। 

‘मायाले मात्र संसार धान्दैन। भोलि मेरो किड्नी फेल हुँदा मलाई पैसा चाहिन्छ, प्रेमले मात्र पुग्दैन। पैसाको लागि इमोसन र नैतिकता बेचिन्न तर बाँच्नका लागि पैसा चाहिन्छ,’ उनले भनिन्। 

सम्बन्धमा रुने र सहानुभूति बटुल्ने कुरामा उनको सख्त विमति छ। उनी आफ्नो प्रेमीको अगाडि कहिल्यै नरुने अड्डी कस्छिन्। 

‘म आफ्नो प्रेमीको अगाडि कहिल्यै रुदिनँ,’ उनले भनिन्, ‘आँसु देखाएर सहानुभुति लिनु मलाई समयको बर्बादी जस्तो लाग्छ। मेरो पीडा उसले बुझ्नुपर्छ, उसलाई बुझाइरहनु पर्दैन। यदि उसमा भाइब्स नै छैन, मेरो के वचनले उसलाई दुख्यो भन्ने थाहा छैन भने त्यो मेरो मान्छे नै होइन।’

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्तीमा डोजर चलाएका दृश्यले ज्योतिलाई निकै विचलित बनाएको छ। 

‘सहर सुन्दर देखिनु त निकै परको कुरा हो, त्यो भन्दाअगाडि सुविधा र मानवीय संवेदना आउँछ। अहिलेको जेनेरेसनले गाँस, बास, कपासको महत्व नै बुझेको छैन। त्यो महत्व बुझ्न देश सिरिया वा प्यालेस्टाइन नै हुनुपर्ने हो र?’ ज्योति प्रश्न गर्छिन्।

बालेनले सुकुम्बासी बस्ती हटाउनुलाई उनले अमानवीय कामको संज्ञा दिइन्। 

‘मलाई त्यो विकास चाहिँदैन जुन मानवीय संवेदनाभन्दा माथि हुन्छ,’ उनले भनिन्, ‘बालेन अहिले तानाशाह बन्ने कोसिस गरिरहेकोजस्तो देखिन्छ। सुकुम्बासीलाई विकल्पविहीन बनाएर काठमाडौँबाहिर पठाउनु न्यायोचित हुँदैन।’

ज्योति एमाले अध्यक्ष केपी शर्मा ओलीको शैली र विकासप्रतिको दृष्टिकोणको प्रशंसक हुन्। 

ओलीलाई भेट्दाको क्षण सम्झिँदै उनले भनिन्, ‘उहाँ भन्नुहुन्थ्यो–आत्तिनु हुँदैन, छोटो प्रतिफलको लागि सर्टकट बाटो खोज्नु हुँदैन र सत्यको बाटोमा हिँड्नुपर्छ। कोही नेपाली सच्चा छ भने केपी ओलीको फ्यान हुनुपर्छ।’

तर, माओवादी अध्यक्ष प्रचण्डप्रति भने उनका केही गम्भीर विमतिहरू छन्। 

प्रचण्डलाई गणतन्त्रको दाता मानिए पनि ज्योति भन्छिन्, ‘प्रचण्डजी हिरो हो तर मेरो अब्जेक्सन के हो भने– १० वर्षको जनयुद्धमा देशले बेहोरेको क्षति, ती १७ हजार मान्छेको रगत। म बनाउने कुरामा विश्वास गर्छु, बिगार्नेमा होइन।’

धेरै कलाकारहरू अहिले राजनीतिमा होमिएका छन्। तर ज्योतिको भने यसमा कुनै रुचि छैन। 

उनी स्पष्ट छिन्, ‘म राजनीतिमा कहिल्यै आउँदिनँ। नजानेको गाउँको बाटो नसोध्नु नै बेस। कलाकारले कलाकारिता नै गर्नुपर्छ। देशको राजनीति बुझ्नु र राजनीति गर्नु फरक कुरा हो।’

हेर्नुहोस् ‘लेट्स टक’ जहाँ ज्योतिले आफ्नो जिन्दगीका आरोह–अवरोह, करिअर, प्रेम, सम्बन्धदेखि राजनीतिसम्मको खुलेर चर्चा गरेकी छन् : 

फोटो/भिडिओ : सरोज नेपाल
 

जेठ ८, २०८३ शुक्रबार २१:२८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad