फिल्म ‘गौँथली’को टिजर सार्वजनिक भएको छ। टिजरमा आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले भोग्नु परेको घरेलु हिंसालाई प्रस्तुत गरिएको छ।
श्रीमान्को फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको राम्रो परिवार चाहने आमाको प्रयास टिजरमा समेटिएको छ। पढ्ने रहर हुँदाहुँदै भएको विवाह, सोझो र इमान्दार भनेर सोचेको श्रीमान् नै खराब भएपछिको अवस्था र जन्म दिने आमा छोडेर कर्म दिने आमाको काखमा पुगेकी बुहारीले भोग्नु परेको दु:ख टिजरमा अटाएको छ।
फिल्ममा श्रीमान्को भूमिकामा अरुण क्षेत्री छन् भने श्रीमतीको भूमिकामा सिम्रन खड्का छिन्। असामान्य अरुणको व्यवहार र कलिलो उमेरमै विवाह गरेकी सिम्रनको कथाले दर्शकलाई भावुक बनाउँछ।
यो फिल्म साउन १ गतेबाट प्रदर्शनमा आउँदै छ। डा. कपिल रिजालले निर्देशन गरेको फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्।
निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन्।
Shares

प्रतिक्रिया