कला


अमेरिका र क्यानडापछि फिल्म ‘आ बाट आमा-२’ को जापान राइट्स पनि बिक्री

अमेरिका र क्यानडापछि फिल्म ‘आ बाट आमा-२’ को जापान राइट्स पनि बिक्री

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १२:५५, काठमाडौँ

आगामी दशैंमा रिलिज हुने फिल्म ‘आ बाट आमा-२’ को जापान वितरण अधिकार बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरेको हो।

यसअघि यो फिल्मको अमेरिका र क्यानडा राइट्स डोको फिल्म्सले महँगो रकममा खरिद गरिसकेको छ। अमेरिका र क्यानडापछि जापानमा पनि प्रदर्शन अधिकार बेलैमा सुरक्षित हुनुले वैदेशिक बजारमा यस फिल्मप्रति वितरक र दर्शकको उत्साह उच्च रहेको देखिन्छ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस फिल्मको छायांकन सोमबार मकवानपुरको चित्लाङबाट सुरु भइसकेको छ। चित्लाङका अलावा विदेशमा समेत यो फिल्मको सुटिङ गर्ने सेड्युल रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिए।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको लेखन, पटकथा तथा निर्देशन चन्द्र पन्तले नै गर्दै छन् भने प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। निर्माण पक्षको घोषणा अनुसार यो फिल्म आगामी असोज ३० गते (अक्टोबर १६) का दिन नेपालसहित विश्वभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। 

फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्काको मुख्य भूमिका रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad