कला


पारसको हातमा हतकडी र बेहुली दिव्या: ‘बेहुली’को पोस्टरसहित रिलिज मिति तय

पारसको हातमा हतकडी र बेहुली दिव्या: ‘बेहुली’को पोस्टरसहित रिलिज मिति तय

नेपालखबर
असार २२, २०८३ सोमबार २१:४३, काठमाडौँ

आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। काठमाडौँमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो।

सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ। रातो रङ्कको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन्। 

हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले सिनेमाभित्र कुनै गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट सङ्केत गर्छ। 

पोस्टर सार्वजनिक गर्न काठमाडौंमा आयोजित जमघटमा मुख्य कलाकार द्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए। दिव्या बेहुलीको पहिरनमा थिइन्, अनि पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले एक अर्काप्रतिको प्रेमिल भाव व्यक्त गर्दा उपस्थित सञ्चारकर्मी र अतिथिको ध्यान तानिएको थियो।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको श्रीधर पौडेलले खिचेको यो तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको रूप दिएका हुन्।

‘होस्टेल ३’ बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यस पटक एउटा निकै परिपक्व र गम्भीर प्रेमकथामा दिव्याको जोडी बनेर आउँदै छन्। युवापुस्तामाझ लोकप्रिय कुलब्वाय र दिव्याको यो फ्रेस अनस्क्रिन केमेस्ट्री कस्तो जम्ला भन्ने कौतूहल दर्शकवृत्तमा पहिल्यैदेखि छ। 

निर्माण पक्षले तिजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथाबीचको संयोजनले दर्शकलाई एउटा फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ।

‘होस्टेल ३’ मै सहकार्य गरेको सशान कँडेल र माधव शर्माको जोडीले नै ‘बेहुली’लाई आकार दिएको हो। माधवको कथामा सशानले सिनेमाको निर्देशन कमान्ड सम्हालेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस प्रोजेक्टमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गानाले सहायकको भूमिका निर्वाह गरेका छन्।

पर्दामा पारस, दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय छ। प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी छ।

चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह(निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad