चलचित्र विकास बोर्डले नेपाली फिल्महरूको पछिल्लो बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ। ‘लालीबजार’ सहित ‘रोल नं १’,‘आई एम जितबहादुर’ र ‘जाँड’ को हिजो आइतबारसम्मको व्यापार सार्वजनिक गरिएको हो।
सोमबार सार्वजनिक गरेको विवरणअनुसार ‘लालीबजार’ कुल कमाइ ९ करोड ३२ लाख रूपैयाँ पुगेको छ।
हालसम्म यस फिल्मका ३ लाख १७ हजार १२ टिकट बिक्री भएका छन्। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले यसअघि नै ५१ दिन मनाइसकेको छ।
त्यस्तै, जेठ १५ गतेदेखि रिलिज भएको फिल्म ‘रोल नं १’ को कुल कमाइ १ करोड ७४ लाख ८५ हजार ६५८ रूपैयाँ पुगेको छ। यस फिल्मलाई ६९ हजार १६६ जना दर्शकले हेरेका छन्।
फिल्म ‘आई एम जितबहादुर’ ले ३१ लाख ३६ हजार ११२ रूपैयाँ कुल कमाइ गरेको छ। फिल्मको ९ हजार ७४२ टिकट बिक्री भएका छन्। जितु नेपालको लगानी रहेको यस फिल्मको व्यापार कमजोर रह्यो।
असार १२ गतेदेखि प्रदर्शनमा आएको ‘जाँड’ को व्यापार निकै कमजोर देखिएको छ। यो फिल्मले १ लाख १६ हजार ६४५ रूपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। फिल्मका ५६९ वटा टिकट मात्रै बिक्री भएका छन्।
यीमध्ये अधिकांश फिल्महरू यतिबेला धेरैजसो हलबाट उत्रिसकेका छन्। नयाँ नेपाली फिल्म रिलिज नहुनु र यसअघि रिलिज फिल्म हलबाट उत्रिँदा अहिले नेपाली हलमा विदेशी फिल्मको वर्चस्व छ।
Shares

प्रतिक्रिया