रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा अनुबन्धित भएका छन्। आफ्नो कमेडी प्रस्तुत गर्दै चर्चामा रहेका प्रभातले चलचित्रमार्फत फिल्ममा डेब्यु गर्न लागेका हुन्।
फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताए।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।
निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारको पनि सशक्त उपस्थिति रहनेछ। चलचित्रमा चर्चित गायक पशुपति शर्माका गीत समावेश हुनेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।
यसअघि नै फिल्ममा चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त र कलाकार समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ दर्शकलाई हाँसो, मनोरञ्जन र नयाँ स्वाद प्रदान गर्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको निर्देशक अमरदीप सापकोटाले बताए।
Shares

प्रतिक्रिया