आउँदो साउन १ गते रिलिज हुने फिल्म ‘गौँथली’ यतिखेर चर्चामा छ। पाँच दिनअघि युट्युबमा रिलिज भएको ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल देखिएको छ।
ट्रेलरले सात लाख ३१ हजारभन्दा बढी भ्यूजसहित मुभी सेक्सनतर्फ ट्रेनिङको पहिलो स्थानमा छ। यस चलचित्रको ट्रेलर हेरेपछि दर्शकले उत्साह व्यक्त गरेका छन्।
ट्रेलरमार्फत नै दर्शकको मन जित्दै सिनेमाप्रति उच्च कौतुहलता जगाएको छ। विशेषगरि, कथा र मुख्य कलाकारहरू सिम्रन खड्का र अरुण क्षेत्रीको अभिनयको निकै चर्चा भइरहेको छ।
ट्रेलरले पाएको यो ‘हाइप’ ले साउन १ गतेदेखि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। ‘छोरीलाई पढाउनुपर्छ’ भन्ने मूल सन्देश बोकेको चलचित्रले पहाडी भेगको यथार्थ परिवेशलाई समेटेको छ। यस कारण ‘गौँथली’ले समाजमा सकारात्मक सन्देश दिने विश्वास पनि दर्शकले व्यक्त गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। जसले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका छन्।
Shares

प्रतिक्रिया