लोकदोहोरी रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन-२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ। यसपटक सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको छ।
नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक-गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको शोको निर्णायकमा गायिका कोमल वली, गायकद्वय राजु परियार र चन्द्र शर्मा रहेका छन्।
आयोजकका अनुसार पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ। जसअनुसार अडिसन कार्यक्रमको सुरुवात असार २७ गते इटहरीबाट हुनेछ।
त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, साउन ४ गते पोखरा तथा साउन ८ र ९ गते काठमाडौँमा अडिसन सञ्चालन गरिनेछ।
इटहरीको क्लब के, चितवनको चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई अडिसन स्थलका रूपमा चयन गरिएको छ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आयोजकले नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न-उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने जनाएको छ।
Shares

प्रतिक्रिया