बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले अचानक आत्महत्या गरेपछि स्वाभाविक रूपमा त्यसकाे असर भारतमा मात्र हाेइन, अन्य देशका कलाकारमा पनि पर्छ नै। भारतीय सञ्चारमाध्यमका अनुसार कलाकार सिंह आइतबार बिहान मुम्बईस्थित आफ्नै घरमा झुन्डिएकाे अवस्थामा भेटिएका हुन्।
त्याे अकल्पनीय र अप्रिय घटनाले नेपाली कलाकार पनि दु:खी र प्रभावित भएका छन्। यसै क्रममा कलाकार दीपकराज गिरीले निकै दु:खी हुँदै आत्महत्याबारे लामै सन्देशसहित कलाकार सुशान्त सिंह राजपुतलाई श्रद्धाञ्जलि दिएका छन्।
कलाकार गिरीले फेसबुकमा लेखेका छन्:
आज म लेख्दैछु...
एउटा अपरिपक्व विद्यार्थी पढाइको बोझले डिप्रेसनमा जान्छ। उसले चारैतिर अँध्यारो देख्न थाल्छ। अन्ततः उसले आत्महत्या गर्ने निर्णय गर्छ, तर उसका बाबुले उसलाई बचाउँछ। आफ्ना छोरालाइ जिन्दगीको सही अर्थ मात्रै सिकाउँदैन, जति ठूलो बाधा-अवरोधलाई पनि मुस्कुराएर जित्नुपर्छ, संघर्ष गर्नुपर्छ भन्ने शिक्षा दिन्छ। यो कथा हो– हिन्दी चलचित्र ‘छिछौरे’ को।
केही समयअगाडि हेरेको थिएँ, आज त्यही चलचित्रका ती पिता बन्ने पात्र– सुशान्तसिंह राजपुत, जसले आत्महत्याविरुद्ध त्यति मीठो सन्देश दिएका थिए, आज उनी स्वयं आत्महत्याको निर्दयी पासोमा झुन्डिएर प्राण त्याग गरे भन्दा एकछिनसम्म पत्यारै लागेन!!! त्यसपछि मलाई कुनै जमानामा मेरा एक गुरूले भनेको एउटा घटना याद आयो।
एकजना नाम चलेका लेखक थिए (नाम बिर्सिएँ अहिले) उनले आत्महत्या गर्नु हुन्न भन्नेबारे धेरै पुस्तक लेखेका थिए। जिन्दगी सुन्दर छ, आत्महत्या गर्नु पाप हो भनेर धेरैलाई हौसला पनि दिन्थे। तर उनै लेखकले अन्त्यमा आत्महत्याकै बाटो रोजे। आज फेरि गुरुले सुनाएको त्यो पुरानो कुरा एकपटक पुनः सम्झिएँ। साँच्चै हो- सान्तवना दिन, सम्झाउन सजिलो छ। जिन्दगीको भागदौडमा जुन संघर्षको सामना प्रत्येक पल गर्नुपर्छ, त्यसबाट निस्कने निराशाको विष समुद्र मन्थनबाट निस्केको कालोकुट विषभन्दा कम हानिकारक हुँदैन र त्यो विष निल्ने क्षमतावान् महादेवजस्ता कठोर र साहसिक मान्छे यो संसारमा बिरलै पाइन्छ।
आत्महत्याका पछाडि अनेकौं कारण हुन्छन्, अहिले हामी कोरोनाको पीडा झेलिरहेका छौं। अहिलेको अवस्थामा कतिलाई आर्थिक समस्या होला। भविष्यको चिन्ता होला। यसबाट दिक्दारी उत्पन्न होला, कतिका पढाइ बिग्रिएका छन्। कतिका धन्दा चौपट भए होलान्, कतिका योजना भत्किए होलान्।
यस्ता कुरालाई मनमा खेलाइरहँदा भविष्य अन्धकार देखिन सक्छ। अनि हामी बिस्तारै डिप्रेसनको खाडलमा जाकिन सक्छौं...कोरानाबाट बच्न के गर्नुपर्छ, सुगर प्रेसर, एचआईभीबाट बच्न के गर्नुपर्छ। यसबारे धेरै ठाउँमा बताइन्छ, सिकाइन्छ पढाइन्छ पनि। तर अहिले विश्वभर माहामारीका रूपमा फैलिएको आत्महत्याजस्तो डरलाग्दो रोगबारे थोरै मात्रै ध्यान दिइएको छ...आत्महत्या गर्ने मान्छेले तुरुन्तै डोरी लगाउँदैन।
उसले केही संकेत अवश्य गरेको हुन्छ। आफू पीडामा रहेको कुरा नजिकका साथीभाइ सीधा वा घुमाउरो ढंगले भनेकै हुन्छ, यस्तो बेलामा सकेसम्म एकले अर्कोलाई सम्झाउने कोसिस गर्नुपर्छ- म छु, केही गरौंला, हेरौंला, चिन्ता नगर, यो सबैको समस्या हो, एकदिन ठीक हुन्छ...यस्ता सान्तवनाका शब्द मात्रले पनि ठूलो काम गर्न सक्छ।
अतः यस्तो बेला एकले अर्कोलाई हौसला दिन नछाडौं..
यो महामारीमा आफ्नो र आफ्नो परिवारको विशेष गरेर मानसिक स्वास्थ्यको ख्याल गरौं...
हार्दिक श्रद्धाञ्जलि सुशान्तसिंह राजपुतलगायत आत्महत्याको सिकार भएका सम्पूर्ण मृतात्माप्रति!!!

प्रतिक्रिया