समाज


नेपालमा पीसीआर परीक्षण गर्न मिल्ने निजी ल्याब कति?

नेपालमा पीसीआर परीक्षण गर्न मिल्ने निजी ल्याब कति?

यज्ञराज जोशी
जेठ ३२, २०७७ आइतबार १३:३२,

सरकारले निजी प्रयोगशालामा पनि कोरोना परीक्षण गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सरकारले संकलन गरेका नमूनालाई मात्रै निजी ल्याबबाट परीक्षण गर्न दिने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षणको गती बढाउन निजी क्षेत्रलाई सरकारले संकलन गरेका नमूना परीक्षणका लागि दिने निर्णय भएको बताए।

‘निजी ल्याबलाई सरकारले संकलन गरेका नमूना परीक्षणका लागि दिने निर्णय गरिएको छ,’ उनले भने, ‘त्यसका लागि प्रति नमूना ५ हजार ५ सय रुपैयाँ सरकारले ती ल्याबलाई उपलब्ध गराउनेछ।’

सरकारले हाल देशभरका २१ वटा ल्याबहरुमार्फत परीक्षण गरिरहेको छ। तर, संकलन भएका नमूनाहरु थुप्रँदै गएपछि निजी ल्याबलाई पनि प्रयोगमा ल्याउने नीति ल्याएको हो।

कति छन् पीसीआर परीक्षण गर्नसक्ने निजी ल्याब?
सरकारले परीक्षण क्षमता बढाउन निजी क्षेत्रसँग समन्वयन गर्ने भनेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत जेठ २२ गते निजी क्षेत्रका प्रयोगशालालाई आफ्नो क्षमता खुलाई पठाउन सूचना जारी गरेको थियो।

उक्त सूचना पछि २० वटा निजी प्रयोगशालाले आफूहरु कोरोना परीक्षणका लागि तयार भएको जानकारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गराएका थिए। तीमध्ये ९ वटा ल्याबसँगमात्रै हाल पीसीआर मेसिन भएको र बाँकीले १–२ महिनाभित्र ल्याएर सञ्चालन गर्ने जानकारी गराएको प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले बताए।

निजी प्रयोगशालाले सरकारले उपलब्ध गराएका नमुनामात्रै परीक्षण गर्न पाउने, शुल्क कति?

‘सरकारले निजीलाई पनि परीक्षण गर्न दिने भनेपछि अहिले पीसीआर मेसिन भएका ९ वटा ल्याबसँग सहकार्य हुनसक्छ,’ गुप्ताले भने, ‘उनीहरुले बुझाएको विवरण अनुसार सामग्री छ कि छैन भनेर निरीक्षण हुन्छ। त्यसपछि उनीहरुलाई परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले अनुमति दिन्छ।’

lab-list.pngराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता भएका ए श्रेणीका ल्याबहरु।

अनुमति पाउने ल्याबमध्ये अधिकांश राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता भएका ए श्रेणीका ल्याबहरु छन। त्यसमध्ये केही बी श्रेणीका र ठूला अस्पतालका ल्याबले पनि अनुमतिका लागि निवेदन दिएको गुप्ताले बताए।

सरकारले तोकेको मूल्य व्यवहारिक छैनः निजी ल्याब
निजी क्षेत्रका प्रयोगशालाले सरकारले तोकेको मूल्य ५ हजार ५ सय रुपैयाँ व्यवहारिक नभएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

तीन महिनाअघि परीक्षणको अनुमतिका लागि निवेदन दिएको इन्टरपिड नेपाल ल्याबका अध्यक्ष समिरमणि दीक्षितले आफूहरुले विदेशबाट किट ल्याएर नेपालमा परीक्षण गर्दा कम्तीमा ७ हजार रुपैयाँ लाग्ने बताए।

‘स्वास्थ्य मन्त्रालयले मोडालिटीबारे अझै विस्तृतमा बताएको छैन,’ उनले भने, ‘यदि सुनेअनुसार ५ हजार ५ सयमा निजीले परीक्षण गर्नुपर्ने हो भने त्यो सकिन्न। हामीले विदेशबाट किट ल्याई यहाँ परीक्षण गर्दा कम्तीमा ७ हजार रुपैयाँ लाग्छ। यो व्यवहारिक छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad