दुई नेपाली कलाकारलाई जापानको हानेदा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले प्रवेश अनुमति नदिई नेपाल फर्काइदिएको छ। तमु धी जापानको रजत जयन्ती अवसरमा जापान निम्ता गरिएका हाँस्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोक गायिका सबिना गुरुङलाई अध्यागमनले जापान प्रवेश अनुमति नदिएको हो।
अगस्ट १ मा उमेशले फेसबुकमा पोष्ट गर्दै जापानतर्फ लागेको उल्लेख गरेका थिए। उनले लेखेका छन्, 'लागियो है केही दिनको लागि जापान। हजुरहरुको माया आशिर्वाद लिएर है?साथमा गायिका दिदी सबिना गुरुङ?'
बैंकक हुँदै टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाइ त्यहाँको अध्यागमनले प्रवेश नदिएको हो।
सत्यतथ्य जाँचमा जापानको अध्यागमन निकै कडा मानिन्छ। विभिन्न भेषमा नेपालबाट मान्छे बोलाउने र उनीहरु जापानमै लुक्ने समस्याका कारण पछिल्लो समय नेपालीहरुमाथि कडा निगरानी हुने गरेको हो। नेपालीलाइ फर्काइएको यो पहिलो पटक भने होइन। यसअघि पनि विभिन्न राजनीतिक दलका नेता एवं कलाकारहरुलाई जापान अध्यागमनले प्रवेश अनुमति नदिई नेपाल फर्काएको छ।
तमु धी जापानले यी दुई कलाकार रजत जयन्ती समारोहमा सहभागी हुने भनेर प्रचार गरेको थियो। नेपाल फर्काइएका कलाकारहरु राष्ट्रियरूपमा ख्याती कमाएका कलाकार भने होइनन्। उनीहरु कार्यक्रममा सहभागी नहुने अवस्था आएपछि सो संस्थाले क्षमा याचना गरेको छ। हेर्नुहोस् विज्ञप्ति:
तमु धी जापानको विज्ञप्ति
तमु धी जापानका अध्यक्ष अनिता गुरुङ, महासचिव चित्र गुरुङ तथा कार्यक्रम संयोजक युक्तमान गुरुङले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन्। ‘हानेदा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले प्राविधिक त्रुटि देखाइ उहाँ (उमेश र सबिना) हरु विमानस्थलबाटै नेपाल फर्किनु परेको कुरा यहाँहरुलाई अवगत गराउनु पर्दा हामी अत्यन्त दुःखी छौं’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया