तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जुन जेनजी आन्दोलन भयो र त्यस क्रममा अकल्पनीय मानवीय तथा भौतिक क्षति भयो, त्यसमा अहिलेसम्म आफ्नातर्फबाट अलिकता पनि कमजोरी महसुस गरेका छैनन्।
बरु तोडफोड र आगजनीको माध्यमबाट बनेको ‘हाहु सरकार’ भनेर जेनजी आन्दोलनकै अपमान हुने गरी भाषण दिन थालेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष ओलीले पहिलोपटक शनिबार सार्वजनिक कार्यक्रममा उपस्थित भएर अभिव्यक्ति दिए।
पार्टीको राष्ट्रिय युवा संगठनले भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले देशमा यत्रो विनाश हुनुमा आफूबाट पनि केही न केही गल्ती/कमजोरी भए होलान् र यो स्थिति आयो होला भन्ने कुरा पटक्कै गरेनन्।
अर्थात् यसो हुनुमा उनले सबै दोष अरूमै देखे।
आन्दोलनकारी जेनजीलाई उनले प्रश्न गरे, ‘जेनजीका नाममा केही भाइबहिनी संगठित हुनुभएको छ। केहीलाई गुमराहमा राखिएको छ, तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ?’
अनि उनले देशवासीलाई निराश नहुन आग्रह गर्दै देश बनाउने एमालेले नै हो पनि भने।
‘देश बनाउने एमालेले नै हो। त्यसैले तपाईँहरूले हरेस नखानुहोस्’, उनले भने, ‘सिंगो देशवासीलाई आग्रह गर्छु- सबै संयमता अपनाउनूस्। राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यहीअनुसार आग्रह गर्छु।’
यसैबीच समसामियक विषयमा कवितामार्फत तीर हान्न माहिर कवि अर्जुन पराजुलीले एमाले अध्यक्ष ओलीलाई तिखो प्रश्न गरेका छन्।
उनी लेख्छन्:
देशलाई खरानी बनाउँदा पनि धित नमरेर
अझै फेरि बनाउने रे!
अब के बनाउने?!
खरानीका डल्ला बनाउने?!
Shares

प्रतिक्रिया